पूर्वी नाकाबाट २४ महिलाको उद्धार

रिपोर्ट नेपाल | 2019 Jan 02 | 07:42 am 1691

भद्रपुर, पुस १८ : माइती नेपाल काँकडभिट्टाले एक वर्षमा भारतका विभिन्‍न स्थानबाट २४ महिलाको उद्धार गरेको छ ।

काँकडभिट्टास्थित संस्थाको आवधिक गृहले एक वर्षको अवधिमा बेचबिखनमा संलग्न दलालको फन्दामा परी बेचिन लागेका महिलाको भारतका विभिन्न स्थानबाट उद्धार गरेको हो । सोही अवधिमा संस्थाले बेचबिखनको जोखिममा परेका २५९ जनालाई सीमानाका काँकडभिट्टाबाट रोकथाम गरेको माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले बताए।

त्यस्तै संस्थाले ९१ जनालाई सीमानाकाबाट सोधपुछ गरी नेपाल फर्काएको थियो । बस, रिक्सा, टेम्पोलगायत सवारीसाधनका १६ हजार ११३ चालकलाई मानव बेचबिखनसम्बन्धी सचेतनासमेत प्रदान गरिएको घिमिरेले बताए।

वैदेशिक रोजगार तथा अध्ययनका लागि भारत जान लागेका एक हजार ८६९ किशोरीलाई सुरक्षित बसाइँसराइबारे अवगत गराइएको तथा किशोरी तथा महिला हराएको १७९ निवेदन परेकामा ५८ जना फेला परेको संस्थाले जनाएको छ । प्रहरी प्रशासनसँगको समन्वयमा मानव बेचबिखनका तीन तथा जबर्जस्ती करणीका पाँच मुद्दा दर्ता गरिएको थियो ।

शिशुको शव फेला

झापाको बुद्धशान्ति गाउँपालिकामा मङ्गलबार सालनालसहित गाडिएको अवस्थामा नवजात शिशुको शव फेला परेको छ । घाँस काट्न गएका स्थानीयवासीले बुद्धशान्ति गाउँपालिका–४ को सट्टाभर्नास्थित बारीमा पुरिएको अवस्थामा बच्चाको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीको नेतृत्वमा गएको टोलीले गाडेको स्थानबाट बच्चालाई निकालेको थियो । भर्खर जन्मिएको शिशु घाँटीमा सालनाल र नरिवलको पातको पासो लगाई हत्या गरेर गाडिएको अवस्थामा फेला परेको कार्कीले बताए। “अभियुक्तको खोजी भइरहेको छ,” उनले भने।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.