मोरङ, चैत्र २८ : पूर्वराजा ज्ञानेन्द्र शाहको गाडीको ठक्करबाट मोरङमा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
बिहीबार बिहान पूर्वराजा ज्ञानेन्द्र शाहलाई विराटनगर विमानस्थल पुर्याएर फर्किएको गाडीले माेटरमाइकलाई ठक्कर दिँदा मोरङको सुन्दरहरैंचा– ४, विराटचोकका २२ वर्षीय हेम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको विराटननगरस्थित नोबल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी प्रमुख एसपी मजोज केसीका अनुसार पूर्वराजा शाहलाई विराटनगर विमानस्थल पुर्याएर फर्किएको बा ३ च ७९६२ नम्बरको गाडीले को १५ प ९९७९ नम्बरको मोटरसाइकललाई सुन्दरहरैचा नगरपालिका–४ बुधबारे चोकस्थित ठक्कर दिएको हो ।
उक्त गाडीको ठक्करबाट मोटरसाइकल पछाडि सवार २२ वर्षीय प्रकाश चौधरी घाइते भएको एसपी केसी जानकारी दिए । उनको नोबल अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटना गराउने कार र चालकलाई नियन्त्रणमा लिएको आवश्यक अनुसन्धान तथा कारबाही अगाडि बढाएको मोरङ प्रहरीले जनाएको छ।