पूर्वराजा ज्ञानेन्द्रको भ्रमण उदयपुरको गाईघाटमा

| 2019 Mar 16 | 01:49 pm 2322

उदयपुर, चैत्र २ : मध्य तराई भ्रमणको योजना तयार गरी निस्किएका पूर्वराजा ज्ञानेन्द्र शाह आज शनिबार गाईघाट आउने भएका छन्। शाहले गाईघाटस्थित बोक्सेमा रहेको राधाकृष्ण मन्दिरमा पूजापाठ गर्ने भएका छन् ।

चारप्रसार समितिका संयोजक धुर्व रायमाझीका अनुसार राधाकृष्ण मन्दिर, भगवती मन्दिर र राधा माधव समितिको संयुक्त आयोजनामा राधाकृष्ण मन्दिर परिषरमा पूर्वराजा शाहले पूजा–अर्चना गर्ने कार्यक्रम रहेको बताए ।

पूर्वराजा शाहलाई स्वागतका लागि जलजले, देउरी, बगहा, मोतिगडा, गाईघाटलगायत विभिन्न स्थानमा गेट र व्यानरले सजाइएको छ । जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले दिउँसो २ बजेपछि पूजापाठमा आउने जानकारी पाएको बताए ।

यस क्षेत्रमा पूर्वराजा ज्ञानेन्द्र आउने कार्यक्रम भएकाले सुरक्षा व्यवस्थालाई बलियो बनाइएको एसपी राईले जानकारी दिए । पूर्वराजा उदयपुर आउने भएपछि स्थानीयवासी, राष्ट्रवादी संघ, संस्था तथा राजावादी विभिन्न संगठन स्वागतमा जुटेका छन्।

राधाकृष्ण मन्दिरलाई सिँगारिएको छ। पूर्वराजा शाह उदयपुरमा करिब २ घण्टासम्म रहने कार्यक्रम तय भएको बताइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षाको आन्तरिक तयारीमा जुटेको छ भने आवश्यक परेमा नेपाली सेनाले पनि सुरक्षा दिन सक्‍ने सुरक्षा स्रोतको तयारी रहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.