पूर्वमन्त्री आलमको थुनछेक बयान शुरू

| 2019 Nov 05 | 02:09 pm 1337

रौतहट, कार्तिक १९ : बम विष्फोटका घाइतेलाई उपचारको सट्टा ज्यूँदै इँटाभट्टामा जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री तथा निलम्बित कांग्रेस सांसद महम्मत अफताव आलमको थुनछेक बहस शुरु भएको छ ।

१२ वर्षअघिको क्रुर मानवताविरोध हत्याको घटनामा आलमको जिल्ला अदालत रौतहटमा थुनछेक वहस शुरु भएको हो जिल्ला न्यायाधीश दीपक दहालको इजलासमा आलमको बयान शुरू भएको छ ।

बयान सकिएपछि उनलाई थुनामै राखेर मुद्दाको सुनुवाइअघि बढाउने कि थुनामुक्त गर्ने भन्ने विषयमा थुनछेक बहस शुरू हुनेछ । बम विष्फोटमा परेर घाइते भएकाहरूलाई प्रमाण समेत नष्ट हुने गरी जिउँदै इँट्टाभट्टामा हालेर जलाएको अभियोग लगाएर सरकारी वकिल कार्यालयले सोमबार उनीविरूद्ध जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेको थियो ।

हत्या अभियोगमा आलमसहित उनका भाइ महम्मद अफताब आलम, महम्मद मोबिन आलम, शेख भदई, शेख सेराज भन्ने शेष सराज, शेख फजलेहक, सगिर आलम, शेख जुमईन भन्ने शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साह छन् । आलम पक्राउ परे पनि अरू सबै फरार छन् ।

उनीहरूका नाममा पक्राउ वारेण्ट जारी गर्न माग गरिएको छ । विष्फोटक पदार्थमा दुई वर्षसम्म कैद र २० हजार जरिवाना, ज्यान मार्ने कसूरमा जन्मकैद (२० वर्ष) र ज्यान मार्ने उद्योगमा १० वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिवाना माग गरी अभियोग पत्र दायर गरिएको छ ।

अभियुक्तमध्ये मुक्ति साहलाई देखीदेखी, जानीजानी पनि घटना ढाकछोप गरेकोमा मतियार बनाइ अभियोग पत्र दर्ता गरिएको छ । अभियोग पत्रमा दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टामा लगेर ज्यूँदै जलाई मारेको उल्लेख रहेको पराजुलीले बताएका छन् । ‘प्रहरीबाट आएको प्रतिवेदनमा दर्जन बढीलाई जिउँदै जलाई मारेको अभियोग पत्र दायर भएको छ,’ पराजुलीले भने ।

बम पड्काएर मानिस तर्साउने र त्यही मेसोमा बुथ क्याप्चर गर्ने योजना बनाएर आलमले आफ्नो घर नजिकैको कटेरोमा केही नेपाली र भारतीयलाई बम बनाउन लगाएका विवरण आएका छन् ।
बम बनाएकै ठाउँमा विष्फोट हुँदा दुई जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको र नजिकै गाउँका २२ वर्षीय त्रिलोक सिंह पिन्टु र २१ वर्षीय ओसी अख्तर घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

विष्फोटमा मारिएका र घाइते दुवैलाई आलमको निर्देशनमा नजिकैको इँटाभट्टामा हुलेको भन्दै उनीविरूद्ध पिन्टुका बुबा श्रीनारायण र ओसीकी आमा रूक्सना खातुनले प्रहरीमा जाहेरी दिएका थिए । प्रहरीले जाहेरी लिन नमानेपछि उनीहरूले हुलाकबाट जाहेरी पठाएका थिए ।

त्यसपछि प्रहरीले यसमा अनुसन्धान गरेको थियो। घटनास्थलमा ओसीका लुगा र चप्पल थिए । इँटाभट्टाको माटो परीक्षण गर्न प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको थियो । तर, प्रयोगशालामा माटो परीक्षण गर्ने प्रविधि नभएको भन्दै यसै फिर्ता पठाइयो ।

प्रहरीले आलम र उनका भाइसहित पाँच जनालाई मुद्दा चलाउन भन्दै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलले मुद्दा चलाउन अस्वीकार गरेको थियो । उक्त निर्णयलाई महान्यायाधीवक्ता कार्यालयले पनि सदर गरेको थियो । मुद्दा नचल्ने निर्णय भएपछि सिंह र खातुन दुवैले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

सर्वोच्चमा रिट विचाराधीन रहेकै बेला खातुनको पनि गोली हानी हत्या भयो । रिट परेको दुई वर्षपछि न्यायाधीश सुशीला कार्की र भरतबहादुर कार्कीको इजलासले सरकारी वकिलको निर्णय खारेज गर्दै यसमा थप अनुसन्धान गरेर अदालतमा मुद्दा लैजान आदेश गरेको थियो । सात वर्षसम्म उक्त आदेश कार्यान्वयन नभएपछि अधिवक्ता पुष्प पौडेलले अदालतको अवहेलना निवेदन दिएका थिए ।

उक्त निवेदनमा सुनुवाइ गर्दै गएको असारमा फेरि सर्वोच्चले पहिलेको आदेश कार्यान्वयनको अवस्थाबारे प्रत्येक महिना प्रतिवेदन बुझाउन महान्यायाधीवक्तालाई भनेको थियो । त्यही आदेश कार्यान्वयन गर्ने क्रममा अनुसन्धान हुँदा आलमले जिउँदै मान्छे जलाएको पुष्टि प्रहरीले गरेको थियो । सरकारी वकिलले प्रहरी प्रतिवेदनलाई आधार मानेर जन्मकैद माग गर्दै मुद्दा चलाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.