पूर्णएकता पूर्व नै नेकपा टुक्रिने डर ! एकता हुन नदिन को जिम्मेवार ?

| 2019 Feb 25 | 09:04 am 1598

काठमाडौं, फागुन १३ : पूर्व एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीको एकता अझै पुरा हुन सकेको छैन। केन्द्रमा एकता गरेर तल्ला तहको एकता प्रक्रिया अघि बढाउने सहमति गरेका दुई अध्यक्षले अहिले एकलेअर्काको उछितो काढ्दै हिडिरहेका छन्।

दुई ठूला दलको एकताले सकारात्मक सन्देश प्रवाह भएको थियो। तर विस्तारै आन्तरिक किचलोमा फस्दै गएपछि कार्यकर्ता र जनतामा थप नैराश्यता पैदा भएको छ। एकातिर सरकारको तिव्र आलोचना भइरहेको छ भने अर्कोतिर सत्तारुढ दल मिल्नुको साटो झन फुटको संघारमा पुगेको छ। नेकपाको नौ सदस्यीय हाइकमान्ड बैठक पनि एकले अर्कोको आलोचना गरिरहेका छन्।

माधव, झलनाथलगायतका नेताहरु एकातिर छन् भने ओलीलाई विष्णु पौडेल र सुवास नेम्वाङको साथ छ भने प्रचण्डलाई रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठको साथ छ।

नौ महिनासम्म तल्ला तहको एकता र स्थायी कमिटीका सदस्यको जिम्मेवारीका विषयमा कुरा मिल्न सकेको छैन। भातृ संगठनहरु भद्रगोल छन्।

संगठनात्मक एकता टुंग्याउन स्थायी कमिटीले बनाएको कार्यदल विघटन गरेर सचिवालय आफैँले एकताको प्रस्ताव तयार पार्ने जिम्मा लिएको छ। सचिवालयले आफैं जिम्मा लिएपछि असन्तुष्ट पाँच नेताले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फरक मत बुझाएका छन् । फरक मत बुझाउने योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वर्षमान पुन, बेदुराम भुसाल र लेखराज भट्ट छन् ।

गत पुस २९ गतेदेखि पुस १३ गतेसम्म बसेको पार्टी स्थायी कमिटीको बैठकले १५ दिनभित्र तल्ला कमिटीहरूको एकताको प्रस्ताव तयार पार्न रामबहादुर थापा बादल संयोजक, महासचिव विष्णु पौडेल, योगेश भट्टराई, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, बेदुराम भुसाल, रघुवीर महासेठ र लेखराज भट्ट सदस्य रहेको कार्यदल बनाएको थियो ।

विधान, प्रदेश कमिटी हेरफेर, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पोलिटब्युरो गठन, केन्द्रीय निकाय, विभागहरूलाई पूर्णता दिने र जनसंगठनहरूको एकताको खाका तयार पार्ने कार्यदेश दिइएको थियो ।

यसमा कार्यदललाई संयोजक थापाबादल र महासचिव पौडेलले असफल बनाएको र यसको जिम्मा उनीहरुले लिनुपर्ने असन्तुष्ट पक्षको आरोप छ। दुई जना नेताको कमजोरीलाई सबै सदस्य असफल देखाउने प्रयास भएको भन्दै उनीहरुले समानान्तर प्रतिवेदन पेस गरेका हुन्।

प्रदेश कमिटी हेरफेरमा पार्टी अध्यक्ष ओली समूह र वरिष्ठ नेता नेपाल समूहबीचको विवाद पनि समाधान हुन सकेको छैन। यसले कार्यकर्तामा थप विचलन पैदा गरिदिएको छ।

केन्द्रमा बैठक बस्दा मिलेजस्तो देखिएपनि तल्ला तह र भातृ संस्थाहरु चलायमान हुन सकिरहेका छैनन्। बाह्‍यशक्तिले मिलाइदिएकोले दिगो एकता नहुने भन्दै आरोपहरु लागिरहेका बेला नौ महिनासम्म पनि एकता प्रक्रियाले गति नलिंदा पूर्ण एकता पूर्व नै फुट्‍ने हो की भन्ने आशंकासमेत पैदा गरिदिएको छ।

यसअघि प्रचण्डले अर्को माओवादी जन्मिन सक्ने बताउँदै आफूलाई कमजोर नठान्‍न पूर्वएमाले अध्यक्ष ओलीलाई चेतावनीसमेत दिएका थिए। बाह्‍य राष्ट्रको चासो र नेपाल भ्रमणले नेपालको सत्तारुढ दल नेकपाभित्र विदेशीहरुले चलखेल गरिरहेको त छैन् भन्‍ने आशंकासमेत पैदा गरेको छ।

एकता पूर्ण हुन नदिने सचिवालयका सदस्यदेखि स्थायी कमिटी सदस्य जिम्मेवार देखिएपनि केही बाह्य शक्ति केन्द्रहरुको इसारामा यो भइरहेको हो कि भन्ने आशंकाहरु पैदा भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.