पुल छैन, फड्के तर्दा जान्छ ज्यान

| 2022 Mar 05 | 07:30 am 1757

सिन्धुपाल्चोक, फागुन २१ः सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका–३ को विकट गाउँ दिपु र तेगा जोड्ने नेशम खोलामा पुल निर्माण नहुँदा स्थानीयले आवागमनमा समस्या खेप्दै आएका छन् । पुल निर्माण नभएका कारण वर्षायाममा नेशम खोला तर्ने क्रममा स्थानीयको मृत्यु हुने गरेको छ ।

पुलको विकल्पमा खोलामा काठको फड्के हालेर स्थानीय बासिन्दाले ओहोरदोहोर गर्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी उपरीक्षक दक्षकुमार बस्नेतले खोलाको फड्के तर्ने क्रममा जुगल गापा–३ की पासाङल्हामु शेर्पा, उहाँकी नौ महिने छोरी डोल्माछिरिङ फड्केबाट खसेर बेपत्ता भएका थिए ।

गत वर्ष सोही खोला तर्ने क्रममा जुगल गाउँपालिका–तेम्बाथान गाउँका ४० वर्षीय छिमिग्याम्जो लामा (टाउके) को बगाएर मृत्यु भएको बस्नेतले बताए । जनप्रतिनिधि चुनिएर आएको पाँच वर्ष बित्नै लाग्दासमेत सो खोलामा झोलुङ्गे पुलसमेत बन्न सकेको छैन । गुम्बा गाउँसम्म सडकको ट्र्याक खनिए पनि उक्त सडकको मर्मत, सुधार भएको छैन । गुम्बाबाट दिगु र तेगा गाउँ पुग्ने ट्र्याकसमेत नबनेका कारण भीरैभीरमा गोरेटो बाटोबाट तीन दिन लगाएर दिपु र तेगा पुग्नुपर्ने बाध्यता स्थानीयको छ ।

दिगु र तेगाका बासिन्दाले तीनै तहको सरकारसँग खोलामा पुल निर्माण गर्न माग गर्दा सुनुवाइ नभएको स्थानीय साइँला शेर्पाले बताए । एकीकृत माओवादी केन्द्रका नेता, कार्यकर्ताले चन्दा सङ्कलन गरेर खोलामा तुइन हालिदिएको माओवादी केन्द्रका स्थानीय नेता रेशम स्याङ्बोले जानकारी दिए । तुइनले स्थानीयलाई आउजाउ गर्न सहजता मिलेको उनको भनाइ छ । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.