काठमाडौँ, जेठ २३ : अर्थमन्त्री डा युवराज खतिवडाले दाताबाट ऋण लिएर भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणका लागि अनुदान दिइएकाले पारदर्शी रूपमा खर्च हुनुपर्ने बताएका छन् ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले आज काठमाडौंमा गरेको कार्यक्रममा बोल्दैँ सरकारले पहिलो प्राथमिकता निजी आवास पुनःनिर्माणलाई दिएको बताए।
“दाताबाट ऋण लिएर पीडितलाई अनुदानका रूपमा बाँडी लोककल्याणकारी राज्यको काम गरिएको छ, घर भत्केपछि भूकम्पपीडितले आफ्नो दायित्व शून्यमा झार्नु हुन्न, सरकारले अनुदानलगायत सहयोग गरेकाले पुनःनिर्माणमा घरधनीले नै अग्रसरता लिनु जरुरी छ, घर तयार पार्ने जिम्मेवारी पीडितकै हो”– उनले भने ।
पुनःनिर्माणका लागि दिने भनिएको सहुलियत दरको ऋणको प्रक्रिया सहज बनाउन नेपाल राष्ट्र बैंक र प्राधिकरणले मापदण्ड बनाउनुपर्ने उनले बताए । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले उपत्यकामा एक लाख दुई हजार घर बन्नुपर्नेमा १० हजार पुनःनिर्माण भइसकेका र २५ हजार बन्न सुरु भएको तथ्याङ्क प्रस्तुत गरे ।