पीडित किशाेरीलाई क्षतिपूर्ति भराउन सर्वोच्च अदालतले सरकारलाई आदेश

रिपोर्ट नेपाल | 2020 Jun 05 | 08:16 am 1498

काठमाडाैं, जेठ २३ः २०६८ सालको एसएलसी दिन लागेकी ‘घ’ कुमारीलाई बलात्कार गर्ने बैतडीका सागर भट्ट र अमरराज अवस्थीबाट जनही २ लाख ५० हजार र सरकारी कोषबाट ५ लाख रुपियाँ पीडितलाई क्षतिपूर्ति भराउन सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र हरि फुँयालको इजलासले बिहीबार फैसलाको पूर्णपाठ तयार गरी ती दुई पीडकलाई जनही ११ वर्ष ६ महिना कैद हुने ठहर गरी प्रत्येकबाट २ लाख ५० हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति भराईदिने फैसला गरेको हो ।

२०६८ सालको एसएलसी दिन लागेकी ‘घ’ कुमारीलाई ती दुईले बलात्कार गरेको आरोप लगाई सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । सो अदालतले दुवैलाई मागबमोजिम सजाय गरेको थियो । आरोपित पक्षले तत्कालीन पुनरावेदन अदालत, महेन्द्रनगरमा पुनरावेदन गरेको थियो । सो अदालतले आरोपित दुवैलाई सफाइ दिएको थियो ।

प्रमाण हुँदाहुँदै पनि सो अदालतले सफाइ दिएको नमिलेको उल्लेख गर्दै सरकारले सर्वोच्चमा पुनरावेदन गरेको थियो । सर्वोच्चले आरोपी दुवैलाई दोषी ठहर गरी कैद तथा पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

सर्वोच्चको फैसलामा व्यक्तित्वमाथि भएको अपराध, शैक्षिक उपलब्धी गर्नका लागि भएको ढिलाई, पीडितको मानसिक स्वास्थ्यमा पर्न गएको असरलगायतलाई दृष्टिगत गरी पीडकबाट जनही २ लाख ५० हजार र सरकारी कोषबाट ५ लाख रुपियाँ भराउनुपर्ने उल्लेख गरिएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.