धनगढी, साउन ४: नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले नेकपा नेतृत्वको सरकारले पार्टीका व्यपारी र माफिया पोष्नका लागि जनताप्रति तानाशाही बनेको बताएका छन्।
जुम्लामा बिहिबार डा गोविन्द केसीलार्इ अपहरण गरेको स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी र स्थानीयमाथि गरिएको प्रहरी धरपकडको आलोचना गर्दै नेता सिंहले सरकारले नै मानवअधिकारको चरम उल्लंघन गरेको बताए।
‘कहिलै उपकुलपतिलाई एयरपोर्टबाटै फर्काइन्छ, कहिले अस्पतालमा काम गरिरहेको डाक्टरलाई जबरजस्ती उठाएर मन्त्रालयमा पुर्याइन्छ,’ नेता सिंहले भने, ‘डा. केसीका मागलाई सम्बोधन गर्नुको साटो सरकारले धम्क्याउने प्रयास गरिरहेको छ ।’
शुक्रबार धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुराकानीमा गर्दै सिंहले बिहीबार जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्रै सुरक्षाकर्मीद्वारा गरिएको धरपकड सबैकालागि लज्जाको विषय रहेको बताए । उनले अहिलेको सरकारले सहरमुखी र व्यापारीहरुलाई फाइदा हुनेगरी चिकित्सा शिक्षा विधेयक ल्याउन खोजेको आरोपसमेत लगाए ।
हरेक प्रदेशमा सरकारी मेडिकल कलेज र गुणस्तरीय स्वास्थ्य संस्था खोल्नुपर्नेमा जोड दिदै उनले सरकारले व्यापारीहरुलाई फाइदा हुने क्रियाकलापमा ध्यान केन्द्रित गरिरहेको आरोप लगाए ।
‘डा. गोविन्द केसीका माग जायज छन्,’ उनले भने, ‘नेकपाको सरकारले चिकित्सा शिक्षा विधेयक आफनै पार्टी, कार्यकर्ता, लगानीकर्ताहरुलाई बढावा दिने गरी तोडमोड गरेर ल्याउन लागेको छ ।’
सरकारले माथेमा आयोगको प्रतिवेदनको मर्म र भावनाविपरित अघि बढे कांग्रेस सशक्त आन्दोनमा उत्रिने बताएका छन्।