पाकिस्तानमा आज आम निर्वाचन हुँदै, ८४९ सिटका लागि ११ हजार ८५५ उम्मेदवार

रिपोर्ट नेपाल | 2018 Jul 25 | 12:34 pm 1830

काठमाडौं, साउन ९: पाकिस्तानमा आज आम निर्वाचन हुँदैछ। १० करोड ६० लाख मतदाता रहेको चुनावमा ८४९ सिटको लागि ११ हजार ८५५ उम्मेदवारबीच प्रतिष्पर्धा भइरहेको छ।

त्यहाँको निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभाको २७२ सिटको लागि ३४५९ जना भिड्दैछन् भने ४ वटा प्रान्तीय सभाहरुको ५७७ सिटको लागि ८३९६ उम्मेदवारहरु खडा भएका छन् ।

जम्मा ३४२ सदस्य रहने पाकिस्तानको राष्ट्रिय सभामा ६० सिट महिला र १० सिट धार्मिक अल्पसंख्यकको लागि आरक्षित छन् । यो चुनावमा त्यहाँ प्रमुख दलका शीर्ष नेताहरुले समेत अलग अलग प्रान्तका विभिन्न सिटहरुबाट उम्मेद्वारी दिएका छन्।

पाकिस्तानी मुस्लिम लिग–नवाबका सभापति सहवाज सरिफ ४ स्थानबाट प्रतिष्पर्धामा छन् भने यसपटकको चुनावमा अपेक्षाकृत राम्रो नतिजा हात पर्ने अनुमान गरिएको दल तरिक–ए–इन्साफका प्रमुख तथा पूर्वक्रिकेटर इमरान खानले ५ स्थानमा मनोनयन गरेका छन् । पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जर्दारी भने ३ क्षेत्रबाट चुनाव लड्दैछन् ।

पाकिस्तानी चुनावको नतिजा कस्तो आउला भन्ने अनुमान अहिले नै लगाउन गाह्रो छ । अहिले यतिमात्र भन्न सकिन्छ कि त्यहाँको राजनीतिक परिदृश्य विभाजित, अन्यौलग्रस्त र अनुमान गर्न नसकिने खालको छ ।

तर, पाकिस्तानमा बहुमतविहीन, कमजोर र गठबन्धनको सरकार बनाउने संसद गठन गर्ने सम्भावना धेरै छ । यसो हुँदा आगामी सरकार कमजोर बन्ने र त्यसले क्षेत्रीय तथा अन्तराष्ट्रिय राजनीतिमा समेत बलियो र प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने चिन्ता गरिँदैछ ।

गठबन्धन सरकार बन्दा विशेषगरी पाकिस्तानी सरकारले उसको बैदेशिक नीतिका सम्बन्धमा बनाउने धारणाहरुमा समस्या पर्ने हुनसक्छ । यदि गठबन्धनको सरकार बन्यो भने कतिपय धार्मिक कट्टरपन्थीहरूको समेत सरकारमा सहभागिता हुनसक्ने देखिन्छ ।

यस्तो भएमा फेरि पाकिस्तानमा धार्मिक अतिवाद हावी हुनसक्ने चिन्ता पनि व्यक्त भइरहेको छ । यो आशंका बलियो हुनुको कारण यो हो कि चुनावमा प्रत्यासीका रुपमा देखिएका उमेदवारहरुको सूचीमा धेरै त्यस्ता नामहरु छन्, जो पाकिस्तानमा बैधानिकता प्राप्त गर्न नसकेका धार्मिक संगठनका सक्रिय सदस्यहरु हुन् । उनीहरु कतिपय स्वतन्त्र त कोहि अन्य दलबाट चुनाव लडेकाछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.