पाकिस्तानका प्रधानमन्त्री इमरान खानले लिए शपथ

रिपोर्ट नेपाल | 2018 Aug 18 | 03:22 pm 2182

काठमाडौँ , भदौ २:  पाकिस्तानको नयाँ प्रधानमन्त्रीका रुपमा इमरान खानले शनिबार सपथ ग्रहण गरेका छन् । मुलुकको सबैभन्दा ठूलो पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई)बाट प्रधानमन्त्रीको उम्मेदवार भई विजयी भएका खान पाकिस्तानको २२ औँ प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्री बन्नका लागि आवश्यक पर्ने १७२ मतमध्ये प्रतिनिधि सभामा शुक्रबार भएको निर्वाचनमा खानले १७६ मत पाएपछि उनलाई शनिबार सपथ ग्रहण गराइएको हो । खानका प्रतिश्पर्धी तथा पाकिस्तान मुस्लिम लिगबाट प्रधानमन्त्रीको उम्मेदवार बनेका शाहबाज शरिफले भने ९६ मत मात्रै प्राप्त गरेका थिए ।

सपथग्रहण समारोहमा उच्च पदस्थ व्यक्ति, विदेशी पाहुनाहरुसँगै उनकी श्रीमती बुशरा मेनका पनि सहभागी भएको समाचारमा जनाइएको छ । खानले आफ्नो मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । गत जुलाई २५ तारिखमा पाकिस्तानमा भएको आमनिर्वाचनबाट पूर्वक्रिकेटर खानको पार्टी तेहरिक–ए–इन्साफ (पिटीआइ) ले ११४ स्थानमा जित हासिल गरेर सवै भन्दा ठूलो पार्टी भएको छ ।

सरकार गठनका लागि आफुले मात्रै बहुमत प्राप्त नगरेकाले उनले गठबन्धन सरकार बनाउनु पर्ने भएको छ । विपक्षीहरुले अस्विकारेकाले विवादका बीच निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजाअनुसार, प्रमुख तीन दल तेहरिक–ए–इन्साफले ११४, पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लीगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन् ।

सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले प्रधानमन्त्री बनेका हुन् ।

‘भ्रष्टाचारविरोधी अभियान चलाउँछु’

प्रधानमन्त्री इमरान खानले देशमा भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्ने बताएका छन् । उनले भने, ‘मैले विगतदेखि नै पाकिस्तानमा व्याप्त भ्रष्टाचार विरोधी अभियान चलाएको हो र अब देशको नेतृत्व गरेपछि पनि मैले यसलाई थप गति दिनेछु ।’

पाकिस्तानी संसदले शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेपछि उनले देशमा भ्रष्टाचार गर्ने र राष्ट्रको सम्पत्ति लुट्ने कुनै पनि मानिसलाई आफूले नछोड्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

पाकिस्तान नयाँ मुस्लिम राष्ट्रका रुपमा स्थापना भएदेखि नै पाकिस्तानी जनताले स्थायीत्व र सुशासनको लागि प्रतिक्षा गरेपछि गएका ७१ वर्षमा त्यो सम्भव नभएको भन्दै आफूले देशवासीको परिवर्तनको चाहनालाई पूरा गर्ने उनकाे भनाइ छ ।

आफू राजनीतिक परिवारको सदस्य नभएको स्पष्ट गर्दै उनले भने, ‘न मैले र न त मेरा बुबा या परिवारका अरु कुनै सदस्यले राजनीति गरेका थिए तर मैले भने पाकिस्तानमा निरन्तर २२ वर्षदेखि राजनीतिमा सक्रिय भएर जनताको सामु केही बाचा गरेको छु ।’

जनतासमक्ष गरेका यिनै बाचाहरुले नै आफूलाई पाकिस्तानी नागरिकले सत्तामा पुर्याएका हुन् भन्दै अब उनीहरुका लागि र देशका लागि पनि अाफूले केही गर्छु भनेर लागेको उनले बताए ।

पाकिस्तानमा अहिले भ्रष्टाचार व्यापक मात्रामा मौलाएको छ भन्दै यसका कारण जनतामा निराशा छाएको र देशको आर्थिक अवस्था पनि झन कमजोर हुदै गएकोले आफूले भ्रष्टाचार विरोधी अभियानमा लाग्ने निधो गरेको खानकाे भनाइ छ ।

यही वाचाका कारण नै पाकिस्तानी नागरिकले आफूलाई मत दिएर जिताएको र देशको प्रधानमन्त्रीको जिम्मेवारी पनि दिलाएको उनले स्मरण गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.