पाउने भए ४८ हजार सवारी चालक तथा सहचालकले प्रशिक्षण

| 2019 Feb 24 | 01:42 pm 1875

काठमाडौँ, फागुन १२ : सडकमा हुने विभिन्न किसिमका सवारी दुर्घटना न्यूनीकरणका लागि नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ ।

समय सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सो अभियान सञ्चालन गर्न लागेको हो । संगठनका अध्यक्ष भीमज्वाला राईले बताए । नेपालमा दैनिक ७÷८ जना मानिसले सडक दुर्घटनाबाट अकालमा ज्यान गुमाउनु परेको घटनालाई मध्यनजर गर्दै उक्त अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।

अध्यक्ष राईका अनुसार सातै प्रदेशमा रहेका सवारी साधनमा कार्यरत सवारी चालक र सहचालकलाई सडक अनुशासन र ट्राफिक नियमबारे जानकारी दिँदा जसले गर्दा सडक दुर्घटनामा कमी आउने बताए ।

सवारी दुर्घटना न्यूनीकरण सम्भव छ भन्ने नारासहित देशभर रहेका मजदूर संगठनमध्ये प्रत्येक महिना एकपटक न्यूनतम २० जना चालक तथा सहचालकलाई जम्मा गरेर ट्राफिक प्रहरीमार्फत प्रशिक्षण गराउने भएको छ ।

साथै यातायात मजदूरलाई हुने विभिन्न किसिमका रोगहरु रक्तचाप, मधुमेह, आँखा, मुटु, मिर्गौलाजस्ता रोग परीक्षणका लागि शिविर राखी निःशुल्क स्वास्थ्य परीक्षणसमेत गर्ने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार सडक दुर्घटनाबाट वार्षिक दुई हजार ५ सय देखि तीन हजारसम्म मानिस मर्ने गरेको बताए ।

सडकमा हुने दुर्घटना रोक्न प्रशिक्षण फलदायी हुने र सबै चालक तथा सहचालक जिम्मेवार भए सवारी दुर्घटनामा ठूलो कमी आउने प्रमुख पन्तको भनाइ रहेको छ ।

यातायात व्यवस्था विभागका तथ्यांक अनुसार हाल मुलुकभर ३२ लाख तथा काठमाडौँ उपत्यकामा नौ लाख सवारी साधन सञ्चालनमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.