झापा, साउन २ः जिल्लाको मेचीनगर नगरपालिका ८ पूर्व–पश्चिम लोकमार्ग स्थित जोरसिमल चेक प्वाईन्टबा सशस्त्र प्रहरीले ५ लाख २१ हजार भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतमा घर बताउने आनन्द कुमार सदेका, प्रमोद जलान,
मनोज अग्रवाल, अशोक अग्रवाल र दार्जिलिङ घर बताउने चालक अविजित सिंह रहेका छन्।
भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लु.बि. ७४ बि.एच. १६४३ नम्बरको टोयटा कारलाई शंका लागि चेकजाँच गर्दा दुई हजार दरको १ सय १ वटा र पाँच सय दरको ६ सय ३८ वटा भारतीय नोट फेला पारिएको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त कार समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद रुपैयाँ तथा कारसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।
लत्ताकपडासहित एक जना पक्राउ
बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका २ स्थित वीरगंज–पथलैया सडकखण्डबाट सशस्त्र प्रहरीले अबैध लत्ताकपडासहित भारतमा घर बताउने ४० बर्षिय रिम्पु सिंहलाई पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ९४ नम्बरको ट्रकलाई सशस्त्र
प्रहरी बल नेपाल सुरक्षा बेश जितपुरबाट खटिएको सशस्त्र प्रहरीले शंकालागि जाँच गर्दा विलमा उल्लेख भए भन्दा बढि परिमाणको पाईएपछि उक्त लत्ताकपडासहित उनलाई पक्राउ गरिएको हो । त्यसवेला सो ट्रक समेत बरामद गरिएको छ । पक्राउ परेका सिंहलाई बरामद लत्ताकपडा तथा ट्रकसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।
लागूऔषधसहित एक जना पक्राउ
चितवन जिल्लाको भरतपुर महानगरपालिका २ स्थित आपटारी चोकबाट सशस्त्र प्रहरीले ३ वटा नोफिन र ५ वटा प्रोमेथाजिन हाइड्रोजीन सहित सोही नगरपालिका २ बस्ने १९ वर्षिय अनिल थापालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १७ गण चितवनबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा
उक्त लागूऔषध फेला पारेको हो । पक्राउ परेका थापालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
चोरीपैठारीको सामान बरामद
सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले करीव १ लाख २० हजार रुपैयाँ बराबरको मोबाईलको डिस्प्ले र ६ थान कुकर बरामद गरेको छ ।भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अबस्थामा उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी बसन्तपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाईएको छ ।