पहिरोले गोरखामा १२ घर पुर्‍यो, ४० परिवार विस्थापित

रिपोर्ट नेपाल | 2022 Jul 14 | 08:17 am 1217

गोरखा, असार ३०: गाउँमाथिबाट झरेको पहिरोले गोरखा आरुघाट गाउँपालिका १ श्यामचेतमा १२ घर पुरेको छ। बुधबार दिनभर परेको अबिरल वर्षापछि साँझ करिब ६ बजे आएको पहिरोले अरू ४० घर जोखिममा पारेको वडाअध्यक्ष सूर्य घलेले जानकारी दिए।

पहिरोले विस्थापित भएकाहरू स्थानीय गुम्बा र सिद्धार्थ वनस्थली आधारभूत विद्यालयमा आश्रय लिइएर बसेको वडाध्यक्ष घलेले बताए। ‘गुम्बामा ६ परिवार बसेका छन्। स्कुलमा ६÷७ परिवार छन्’, उनले भने, ‘अरू आफन्तको घरहरूमा आश्रय लिन पुगेका छन्।’

विस्थापित परिवारलाई गाउँपालिका कार्यालय, इलाका प्रहरी कार्यालय तथा सशस्त्र प्रहरीको टोलीले सुरक्षित स्थलतर्फ सारेको तथा खाद्यान्न सामग्री रातिसम्ममा पु¥याएको उनले बताए। पहिरोमा फँसेका २० जनालाई स्थानीयवासी र प्रहरी चौकी मान्बुका टोलीले उद्धार गरेको एसपी केदार खनालले जानकारी दिए। उद्धारका क्रममा पारमाया लामा घाइते भएकी छन्।

गाउँको दायाँ–बायाँ र बीचबाट नै पहिरो झरेपछि स्थानीय मनबहादुर लामाको घर बगाएको थियो भने केशबहादुर लामा, नरबहादुर लामा, भक्तबहादुर लामा र देउमाया लामाको घर पहिरोले पुरेको स्थानीय कुमार लामाले जानकारी दिए। पहिरोले मनबहादुर लामा (क), मनबहादुर लामा (ख), गोरे लामा, काजी लामा, फुलबहादुर लामा, सागर लामाको घर पनि पुरेको छ। ‘भागाभाग भयो। घरमा क्षति पुगे पनि मान्छेलाई त केही हुन पाएन’, वडाध्यक्ष घलेले भने, ‘पशुचौपाया सबै गाउँभित्रै पुरिएका छन्। के कति क्षति भयो थाहा छैन।’

रातिसम्ममा घटनास्थलमा गाउँपालिका अध्यक्ष राजु गुरुङ, १ का वाडाध्यक्ष सूर्य घले, इलाका प्रहरी कार्यालयका निरीक्षक रामजी देवकोटा नेतृत्वको टोली, सशस्त्र प्रहरीको टोली, वडा नम्बर २ र ३ का अध्यक्षहरू पुगेका थिए। ‘कार्यपालिकाको बैठक हुँदाहुँदै श्यामचेत गाउँमा बाढी पहिरोले पुरियो भन्ने खबर आयो’, घलेले भने, त्यसपछि हामी बैठक नबसी खाद्यान्न र ओत लाग्ने सामग्री लिएर त्यसतर्फ गएका हौं।’ सो ठाउँमा २०७५ सालदेखि पहिरो जान थालेको हो। पहिरो रोकथाम भइरहेको थियो। रोकथाम गर्न बाँकी रहेको ठाउँबाट पहिरो झरेको स्थानीय कुमार लामाले जानकारी दिए। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.