पहिरोले अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन

रिपोर्ट नेपाल | 2018 Jul 12 | 12:55 pm 3951

पर्वत, असार २८: अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण अवरुद्ध भएको पोखरा-बागलुङ सडक खण्ड बाह्र घण्टापछि सञ्चालन भएको छ ।

पर्वतको मोदी गाउँपालिका–५ बाजुङमा पर्ने भ्याप्ले खोला नजिकै माथिबाट लेदो झरेका कारण गए राति १० बजेबाट सडक अवरुद्ध भएको थियो । बिहान १० बजेदेखि बाटो सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ। सडक खुलेसँगै रातिदेखि नै सडकमा अलपत्र परेका सयौँ सवारी साधन गन्तव्यतर्फ लागेका छन् । पोखरा बागलुङ सडकखण्डको वैकल्पिक सडक नहुँदा यात्रुहरु रातभर नै सावरीसँगै सडकमै अलपत्र परेका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय र डिमुवा प्रहरी चौकीले संयुक्त रुपमा रातिदेखि नै डोजरको प्रयोग गरेर पहिरो हटाउने प्रयास गरेका थिए। अहिले वर्षा रोकिएका कारण बाटो खुलाउन सकिएको भए पनि फेरि वर्षा हुँदासाथ बाटो अवरुद्ध हुने अवस्था रहेको पहिरो गएको स्थानमा रहेका ट्राफिक प्रहरी काशीनाथ चौधरीले बताए। वर्षा शुरु भएसँगै भ्याप्ले खोलामा पहिरो खस्ने गरेका कारण पोखरा बागलुङ सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.