कालिकोट, साउन ३०ः गएराति जिल्लाको महावै गाउँपालिका ३ नकुमा पहिरोले पुरिएर ६ जना बालबालिकाको मृत्यु भएको छ ।
प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी राजेन्द्र बास्तोलाका अनुसार पहिरोले वडा सदस्य राजबहादुर विष्टको घर पुरिएको थियो ।
पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको एसएसपी बास्तोलाले जानकारी दिए। पहिरोले विष्टका १३ वर्षीय छोरा पुष्प विष्ट, ११ वर्षीय छोरा प्रविन विष्ट, १८ वर्षीया छोरी सबिना विष्ट र १५ वर्षीया छोरी आशा विष्टको मृत्यु भएको छ ।
त्यस्तै डिलबहादुर विष्टका १९ वर्षीय छोरी शान्ती विष्ट र १० वर्षीया छोरी रेखा विष्टको पनि मृत्यु भएको बास्तोलाले बतए । स्थानीय बासिन्दा जनप्रतिनिधि र प्रहरीले घटना स्थलमा पुगेपछि मृतकको शव पहिरोबाट निकालिएको छ ।
पहिरोले पुरै गाउँ जोखिममा रहेको स्थानीय खेमबहादुर सिंह भिजनले बताए । गएराति जिल्लाका बिभिन्न स्थानमा पहिरो गएको प्रारम्भिक जानकारी आएको छ । जिल्ला भरको विवरण लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।