पाँचथर, असार ११ जिल्लाको याङवरक गाँउपालिका–२ स्थित फलैँचाको चिङ्मा, बेतेनी, मुक्लाबुङ र धिमालेमा पहिरो गएको छ। पहिरोका कारण त्यहाँका दर्जनौं घरपरिवार विस्थापित भएको घटनास्थलमा खटिएका असई जिवन कार्कीले जानकारी दिए।
लगातारको बर्षाका कारण गएराति १ बजेदेखि पहिरो जान सुरु भएको थियो। स्थानीय डिल्ली ओलीका अनुसार पहिरोका कारण चिङ्माका पहलमान राईको घर पुरिएको छ। राईको घरमा भएका पशु चौपायहरु समेत पहिरोले पुरेको जानकारी दिए।
पहिरोका कारण तीनवटा टोलका मानिसहरु विस्थापित भएको बताइएको छ। विस्थापितहरुको यकिन विवरण आउन भने बाँकी रहेको छ ।
घटनास्थलमा सीमा प्रहरी चौकी च्याङथापु र प्रहरी चौकी फलैँचाको प्रहरी टोली खटिएको प्रहरीले जानकारी दिए ।