पहिरोको उच्‍च जोखिममा खनालथोक बस्ती

रिपोर्ट नेपाल | 2018 Jul 13 | 09:11 am 3493

चौतारा, असार २९: अविरल वर्षाले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-४ स्थित खनालथोकमा-१२ घर उच्च जोखिममा छन्।

बस्तीको तलमाथि दुवैतिरबाट सडक खनिएका कारण माथिबाट माटो झरेको र तलबाट माटो बग्ने गरेको हुँदा ती घर उच्च जोखिममा परेको प्रहरीचौकी भोटेचौरले जनाएको छ। भूकम्पपीडितले निजी आवास निर्माण गर्ने सामान लान डोजरद्वारा सडक खनेको हुँदा तीन घर आधा पुरिएको दुई घर आधा ढल्केको तथा सात घरसहित १२ घर उच्च जोखिममा परेका छन्। स्थानीयवासी रामचन्द्र खनाललगायत १२ घर परिवारले सामान सारिसकेको र उनीहरुलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै मेलम्ची नपा-२ भोटेचौरस्थित जैसी गाउँमा पनि बिहीबार राति एक विश्रामस्थल पुरिएको छ। नगरपालिकाले खनेको चक्रपथको ढुंगा माटो झरेर सञ्चालक परशुराम खतिवडाको टहराको आधा भाग पुरेपछि त्यहाँ सुतिरहेका पाँच परिवार राति नै भागेर ज्यान बचाउन सफल भएको वडा सदस्य नगेन्द्रप्रसाद खतिवडाले जानकारी दिए।

अविरल वर्षाले अरनिको राजमार्गको बाह्रबीसे-तातोपानी सडकखण्डको दश किलोको दुई तीन स्थानमा माथिबाट पहिरो भरेर सडक अवरुद्ध भएको छ । त्यहाँ आज पनि निरन्तर वर्षा भइरहेकाले पन्छाउन समस्या भइरहेको सीमा प्रहरी कोदारीले जनाएको छ। त्यसै गरी लामोसाँघु–जिरी सडकअन्तर्गत मुढे खण्ड र मेलम्ची-भोताङ सडकखण्डको तिपेनीमा गएको पहिराले सडक अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक विमल कँडेलले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.