पश्चिम नेपालको नमुना हुसेनी इमाम बाडाको निर्माण

रिपोर्ट नेपाल | 2021 Mar 21 | 12:14 pm 5441

  • सन्तोष महतारा

गुल्मी, चैत ८ः अर्घाखाँचीमा १ करोड बढी लगानीमा हुसेनी इमाम बाडा बनिरहेको छ । जिल्लाको छत्रदेव गाउँपालिका २ अर्बुण खन्नेबाँसमा मुस्लिम समुदायका स्थानीयको अगुवाईमा १ करोड बढी लगानीमा हुसेनी इमाम बाडा बनिरहेको स्थानीय असरफ अलीले जानकारी दिए ।

मुस्लिम धर्मालम्बीहरुले इमामे हासेन र इमामे हुसेनको सम्झनामा प्रत्येक मोहरमको ७ देखी १० तारिखसम्म श्रद्धालु, भक्तजनहरुको उपस्थितिमा जुलुस निकाल्ने र मिलादुननबी कार्यक्रम गर्ने परम्परा रही आएको छ । जसका लागि छत्रदेव गाउँपालिका २ अर्बुण खन्नेबाँसमा रहेका मुस्लिम समुदायको अगुवाईमा उक्त हुसेनी इमाम बाडा निर्माण गरिरहेको हुसेनी इमाम बाडा निर्माण समितिका सचिव जितु मियाले जानकारी दिए ।

मुस्लिम समुदायका स्थानीयको अगुवाईमा निर्माणधिन अवस्थामा रहेको उक्त हुसेनी इमाम बाडाको निर्माणका लागि स्थानीय वडा, पालिका र प्रदेशले पनि सहयोग गरिरहेको छ । छत्रदेव गाउँपालिका २ का वडाध्यक्ष राजेश पन्थीको पहलमा वडाले उक्त हुसेनी इमाम बाडाको निर्माणका लागि ४ लाख ५० हजार सहयोग गरेको छ । त्यस्तै छत्रदेव गाउँपालिकाले पालिकाको तर्फबाट पनि ४ लाख ५० सहयोग गरेको निर्माण समितिका सचिव मियाले बताए । उक्त हुसेनी इमाम बाडाको निर्माणका लागि लुम्बिनी प्रदेशले १७ लाख ५० हजार सहयोग गरेको निर्माण समितिले जनाएको छ ।

हुसेनी इमाम बाडाको निर्माणमा अहिलेसम्म प्रदेश, स्थानीय तह र वडाको सहयोगसहित स्थानीयको सहयोग गरी ८० लाख खर्च भएको निर्माण समितिका अध्यक्ष भकुरा मियाले बताए । “मुस्लिम समुदायका स्थानीयको अगुवाईमा उनीहरुकै आर्थीक सहयोगले हुसेनी इमाम बाडा निर्माण भइरहेको छ ।” निर्माण समितिका अध्यक्ष मियाले भने, “यो हामीले निर्माण गरीरहेको हुसेनी इमाम बाडा पश्चिम नेपाल कै एक नमुना हुसेनी इमाम बाडा हो ।” अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा करिब १४० घरधुरी मुस्लिम धर्मालम्बीहरुको समुदाय रहेको छ । आज भन्दा ८ सय वर्ष अगाडी देखी छत्रदेवमा मुस्लिम समुदाय रहेको इतिहास भएको स्थानीयले बताएका छन् ।

२ वर्ष अगाडीदेखी निर्माण सुरु भएको उक्त हुसेनी इमाम बाडा निर्माणका लागि भारतको लखनउबाट समेत केही कालीगढहरु आएका छन् । छत्रदेवको अर्बुण खन्नेबाँसमा रहेका मुस्लिम समुदायहरु बढी मात्रामा ब्यापर ब्यवसायमा संलग्न छन् । त्यहाँका केही स्थानीयहरु गुल्मीको सदरमुकाम तम्घासमा ब्यापर ब्यवसाय पनि गर्दै आइरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.