पशुपति जबरा र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाले वैधानिकता पायाे

रिपोर्ट नेपाल | 2019 Apr 10 | 05:57 pm 1312

काठमाडौं, चैत्र २७  : पशुपति समशेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वको दुई वटा राप्रपा मिलेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले वैधानिकता पाएको छ । बुधबार निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तलाई कानुनी रुपमा राजनीतिक दलको मान्यता दिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी आयोगले आफ्नो पार्टीलाई राजनीतिक दलको मान्यता दिएको जनाएको छ । राप्रपा संयुक्तले निर्वाचन चिन्ह ‘हलो’ पाएको छ ।

राप्रपा संयुक्तले हिन्दु राष्ट्र कायम गर्दै राजसंस्थालाई राष्ट्रप्रमुखको रुपमा स्थापित गराउने मुद्दालाई मुख्य नीतिको रुपमा प्राथमिकताका साथ अघि सारेको छ । हालका राष्ट्रप्रमुखको भुमिका निश्पक्ष हुन नसेककाले सेरेमोनियल राजसंस्थाको पक्षमा आफूहरु रहेको राप्रपाका अर्का अध्यक्ष डाक्टर प्रकाश चन्द्र लोहनीले बताए।

अध्यक्ष जबराले नेपाललाई अधिनायकवाद तर्फको यात्राबाट रोक्नका लागि नीति र सिद्धान्त मिल्ने सबैलाई एकता र सहकार्यका लागि आह्वानसमेत गरे ।

वर्तमान सरकारका गतिविधि संविधानको भावना र मर्म विपरीत रहेको, भ्रष्टाचार मौलाएको, संवैधानिक अंगका स्वतन्त्रतामा हस्तक्षेप गरिएको तथा प्रधानमन्त्रीको तजबिजमा सेना परिचालन लगायतका कार्यहरु नियोजित रुपमा सक्रिय भएको आरोप राप्रपा संयुक्तले लगाएको छ ।

पार्टी एकतापछि बनेको राप्रपा संयुक्तका लोहनी र जबरा दुई अध्यक्ष रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.