ताप्लेजुङ, वैशाख ९: प्रसिद्ध तिर्थस्थल ऐतिहासिक तथा शक्तिपीठ पाथीभारा माईको मन्दीरलाई विश्व सम्पदा सुचिमा राख्न आवाज उठेको वर्षौं भएपनि अव भने उक्त कार्यका लागि पहल गरिने भएको छ ।
जिल्ला समन्वय समिति महासंघ १ नम्बर प्रदेश समन्वय कमिटिको सातौं बैठकले पाथीभारा शक्तिपीठको मन्दीरलाई विश्व सम्पदा सुचिमा राख्नका लागि राज्यका सबै निकायमा पहल गर्ने निर्णय गरेको हो ।
३ हजार ७ सय ९४ मिटरको उचाइमा रहेको पाथीभारा मन्दीरलाई विश्व सम्पदा सुचिमा सूचिकृत गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय बैठकमा उपस्थित एधार जिल्लाका समन्वय समिति प्रमुख, उपप्रमुखलगायतको टोलीले गरेको छ ।
पाथीभारा मन्दीरमा गएर पूजा अर्चना गरेपछि आफूले चिताएको पूरा हुने विश्वासका साथ स्वदेशी मात्र नभएर छिमेकी मित्रराष्ट्र भारतबाट समेत धर्मावलम्बी पुग्ने गरेका छन् ।
पाथीभारा मन्दीरमा पुग्न इच्छा हुँदाहुँदै पनि ठाडो उकालोका कारणले जान नसकेका बृद्ध असक्तको सुविधाका लागि पनि बोटोको स्तरोन्नती गरिने भएको छ । ताप्लेजुङकी महिला अधिकारकर्मी गीता लिङ्देनका अनुसार पाथीभारा माइको दर्शनले धेरैको जिवनलाई सुखमय बनाइदिएको छ ।