पोखरा, असार २७ : पर्यटकीय नगरी पोखारामा छिमेकी मित्र राष्ट्र भारतबाट पर्यटक भित्राउने उद्देश्यले निम्तो बाँड्न नेपालको पर्यटन व्यवसायी एवं सञ्चारकर्मीको टोली आज बुधबार भारततर्फ प्रस्थान गरेको छ ।
पश्चिमाञ्चल होटल संघको आयोजना एवं नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको सहयोगमा भारतीय पर्यटकलाई पोखराको सौन्दर्यता देखाउने उद्देश्यले टोली भारतर्फ निम्तो बाँड्न हिडेको हो ।
भारतका पटना, बनारस, लखनउलगायतका विभिन्न क्षेत्रमा अहिले अत्यधिक गर्मी हुने भएकाले यो समय पोखरा घुम्नका लागि पर्यटकलाई उपयुक्त छ भन्ने सन्देश दिने उद्देश्यसहित टोली भारतर्फ प्रस्थान गरेको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकाल तुलाचनले बताए ।
निम्तो बाँड्न पोखराबाट दलबल सहित निस्कीएको टोलीले भारतमा पुगेर त्यहाँका उद्योग व्यवसायी संघसंस्थासंग समन्वय गरी प्रचार प्रसार गर्ने कार्यक्रम रहेको छ ।
पोखरा सबै मौसमका लागि घुम्न उपयुक्त छ भन्ने सन्देश प्रवाह गर्दै गर्मी मौसममा स्वच्छ वातावरणसहित सितलता प्रदान गर्नुका साथै हिमाली एवं पहाडी दृष्यावलोकन गर्न आउनैपर्ने ठाउँ भएको कुरालाई प्रचारप्रसार गरिनेछ ।
विगत छ वर्ष देखि निरन्तर सञ्चालन गरिएको यो कार्यक्रमले भारतीय पर्यटकलाई आकर्षण गरेका कारण आउनेक्रम निकै वृद्धि भएको छ ।
पोखरा आउने भारतीय पर्यटक हिमाली दृष्यावलोकनमा लोभिने गरेको उल्लेख गर्दै नेपाल पर्यटन बोर्ड प्रदेश कार्यालयका प्रमुख सूर्य थपलियाले पोखरा हुँदै धेरै भारतीय पर्यटक प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ पुग्ने गरेको बताएका छन् । ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सम्पन्न मुक्तिनाथ दर्शन भ्रमणसँगै यस क्षेत्रमा भारतीय पर्यटकको चाप बढेको पर्यटन व्यवसायीहरु बताउँछन् ।
पश्चिमाञ्चल होटल संघका पूर्वअध्यक्ष भरतराज पराजुलीले गर्मीको समयमा मात्र नभएर बाह्रै महिना भारतीय पर्यटक आउन भन्ने सोचका साथ कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।
पोखरामा आउने कूल विदेशी पर्यटकमध्ये ६० प्रतिशत भारतीय रहेको पनि पराजुलीले बताएका छन् । पाँचदिने भ्रमणका क्रममा टोलीले लखनउ, पटना, वनारसका पर्यटन व्यवसायीसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको होटल संघका सचिव गणेश पहारीले बताए ।