परिवर्तनमा सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय छ : मुख्यमन्त्री राई

रिपोर्ट नेपाल | 2018 Dec 20 | 02:57 pm 1484

विराटनगर, पुस ५ :  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका राजनीतिक क्षेत्रमा असाधारण परिवर्तन आउनुमा सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्नेमा जोड दिए।

मुख्यमन्त्री राईले समाजमा देखिएका नकारात्मक परिस्थितिलाई सकारात्मक बनाउन सञ्चार क्षेत्रले अझै आफ्नो कार्यलाई अग्रभागमा राख्नुपर्ने सुझाव दिँदै नेपालको संविधानको प्रस्तावनामा नै प्रेस स्वतन्त्रता उल्लेख भएकाले प्रेस स्वतन्त्रता कहिल्यै पनि कसैले हनन गर्न सक्दैन भने ।

उनले आफू सञ्चारमन्त्री भएको समयमा राष्ट्रिय सञ्चार नीति तर्जुमा गराएको, पत्रकारहरुको न्यूनतम पारिश्रमिक प्रतिवेदन अघि बढाएको, पत्रकार दुर्घटना बीमा ल्याएका स्मरण गर्दै सञ्चारकर्मीका व्यावसायिक र क्षमता विकासमा आफू सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले प्रेस स्वतन्त्रताका विषयमा सञ्चारकर्मीहरुले प्रदेश सरकारप्रति शङ्का नगर्न आग्रह गरे । उनले सञ्चारकर्मीहरुले आफ्ना मर्यादालाई बिर्सन नहुने भन्दै मानवअधिकार र प्रेस स्वतन्त्रताको लडाइँमा १४ वर्ष जेल जीवन बिताएका  वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीबाट पनि प्रेस स्वतन्त्रतामा अङ्कुश नलाग्ने स्पष्ट पारे ।

सङ्घीय समाजवादी फोरम नेपाल प्रदेश नं १ संसदीय दलका नेता जयराम यादवले सञ्चार क्षेत्र जहिले पनि देश विकास र समाजमा परिवर्तन ल्याउन समर्पित रहन आग्रह गरे ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले समाजलाई असल बनाउन सञ्चारकर्मीले पनि आफूलाई रुपान्तर गर्नुपर्छ उनकाे भनाइ छ। नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेसलाई नियन्त्रण एवं अङ्कुश लगाएमा लोकतन्त्रकै उपहास हुने विचार व्यक्त गरे ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीले समितिको सिफारिशमा नै अहिले सञ्चारकर्मीको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि भएको जानकारी दिए । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले सञ्चारकर्मीहरुले अधिकारको कुरा गर्दा कर्तव्यलाई पनि बिर्सन नहुने तर्क गरे ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा भएको सो कार्यक्रममा महासङ्घका मोरङ शाखाका अध्यक्ष बन्धु पोखरेल, महासङ्घका प्रदेश नं १ का अध्यक्ष विक्रम लुइँटेल र महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले पनि सञ्चार क्षेत्रलाई अझ कसिलो र बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.