‘पब्जी’ को प्रभावमा बालकले गरे आमा र तीन भाइबहिनीको हत्या

| 2022 Jan 29 | 10:25 am 1241

लाहोर (एजेन्सी) माघ १५: पाकिस्तानको पञ्जाब प्रान्तमा १४ वर्षीय बालकले अनलाइन गेम ‘पब्जी’ को प्रभावमा आफ्नी आमासहित तीन भाइबहिनीलाई गोली हानेर हत्या गरेका छन्। गत साता लाहौरको काहना क्षेत्रका ४५ वर्षीय स्वास्थ्यकर्मी नाहिद मुबारक, उनका २२ वर्षीय छोरा तैमुर र १७ र ११ वर्षीया दुई छोरीको शव भेटिएको थियो।

नाहिद मुबारकको सम्बन्धविच्छेद भइसकेको थियो। परिवारमा नाहिद मुबारकका १५ वर्षीया छोरा मात्र सुरक्षित थिए। प्रहरीका अनुसार उनी नै हत्यारा भएको एनडिटिभी इन्डियामा समाचार छ।

बयानमा भनिएको छ , ‘केटा पब्जी खेलाडी भएको र उनले खेलको प्रभावमा आफ्नी आमा र भाइबहिनीको हत्या गरेको स्वीकार गरेका छन्। दिनको धेरै समय अनलाइन गेम खेल्दा उनलाई केही मनोवैज्ञानिक समस्या देखिन थालेको छ।’

पढाइमा ध्यान नदिने र दिनभर ‘पब्जी’खेलेको भन्दै आमाले छोरालाई बारम्बार गाली गर्ने गरेको प्रहरीले जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘घटना भएको दिन नाहिदले केटोलाई गाली गरेकी थिइन् । पछि उसले दराजबाट आमाको बन्दुक निकालेर आमा र उनका अन्य तीन भाइबहिनीलाई गोली हानेर हत्या गरे।’

बयानका अनुसार भोलिपल्ट बिहान केटोले कराएर छिमेकी र पुलिसलाई बोलाए। त्यतिबेला केटोले आफू घरको माथिल्लो तलामा रहेको र कसरी आफ्नो परिवारको हत्या भयो थाहा नभएको प्रहरीलाई बताए ।

नाहिद मुबारकले आफ्नो परिवारको सुरक्षाका लागि पेस्तोल किनेकी थिइन्। उनीहरुसँग लाइसेन्स पनि रहेको प्रहरीले जनाएको छ । बालकले फ्याँकेको नालीबाट पेस्तोल अझै ननिकालेको प्रहरीले जनाएको छ । केटोको रगतले लतपतिएको लुगा बरामद गरिएको प्रहरीले बतायो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.