चितवन, मंसिर १६ : यही पुस ११ गतेदेखि १५ गतेसम्म सौराहाको बाघमारा चौरमा पन्ध्रौँ चितवन हात्ती महोत्सव २०७५ हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर विगतका वर्ष झै यस वर्ष पनि हात्तीपोलोसहितको महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवको आयोजना क्षेत्रीय होटल संघ सौराहाले गर्ने भएको छ । उक्त महोत्सवमा हात्तीहरुले पोलोसँगै फुटबल खेल्ने, हात्तीको पिकनिक र हात्तीकै सुन्दरी प्रतियोगिता हुनेछ । संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक सुमन घिमिरेले जानकारी दिएका हुन् । उनका अनुसार महोत्सवका क्रममा साहित्य र पर्यटन विषयक विशेष कार्यक्रमसमेत गरिने भएको छ ।
महोत्सवमा विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम, संरक्षणमूलक नाटकसमेत प्रस्तुत गरिने बताए । पशु अधिकारकर्मीले हात्तीलाई दबाबमूलक काम लगाएको भन्दै विरोधसमेत गरेका थिए । गत वर्ष गरेको अनुगमनपछिको सुझावलाई अधिकतम स्वीकार गरी हात्तीलाई दबाब नभएर मनोरञ्जन दिँदै कार्यक्रममा सहभागी गराउन लागिएको घिमिरेले स्पष्ट पारेका छन् ।
अधिल्ला वर्षदेखि नै स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा महोत्सव हुँदै आएको छ । साथै महोत्सव प्रवर्धकका रूपमा नेपाल पर्यटन बोर्ड रहेको छ ।