पदीय भागवण्डामा टुंगो लाग्दै नेकपाको विवाद

रिपोर्ट नेपाल | 2020 Aug 19 | 07:48 am 1608

काठमाडौं, भदौ ३ः नेपाल कम्युनिस्ट पार्टीभित्र देखिएको आन्तरिक विवाद पद बाँडफाँडमा मिल्ने भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शुरु भएको विवाद डेढ महिनापछि पद बाँडफाँडमा सहमति जुट्ने भएको हो ।

पार्टीभित्र वैचारिक र सैद्धान्तिक मुद्दा नभएकाले पद बाँडफाँडमै डेढ महिनाभन्दा बढी समय नेकपा आन्तरिक विवादमा रुमलिएको थियो ।

गत शुक्रबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएसँगै पार्टीभित्रको आन्तरिक विवाद हल भइसकेको बताइएको छ । तर औचारिक विवाद समाधान भने कार्यदलले दिने प्रतिवेदनलाई आधार मानिने भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली समूहले विचारको विवाद नरहेकाले पदीय कुरामा समस्या सृजना गरेको आरोप लगाएपछि अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको विवाद पदको नभएको स्पष्टीकरण दिनुपरेको थियो ।

पार्टी एकीकरण भएको लामो समय बितिसक्दा समेत अझै केही सांगठानिक एकता प्रक्रियाले पूर्णता पाउन सकेको छैन । डेढ महिनाअघि सचिवालयमा अलमलमा रहनुभएका अध्यक्ष ओली अहिले सुविधाजनक बहुमत हुने अवस्था सृजना भएको छ ।

ओली–प्रचण्डबीच छ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएसँगै सचिवालयमा वरिष्ठ नेताद्वय खनाल, नेपाल र प्रवक्ता श्रेष्ठ मात्र ओलीको विपक्षीमा रहेका छन् । उपाध्यक्ष वामदेव गौतमल पदीय भागवण्डा गर्ने गरी छ बुँदे सहमतिको खाका अगाडि सारेपछि विवाद समाधान हुने अवस्था सृजना भएको थियो । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.