पत्नीको उपचारपछि अमेरिकाबाट फर्किए दाहाल

रिपोर्ट नेपाल | 2019 Mar 28 | 07:16 pm 1489

काठमाडौं, चैत १४ : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीताको उपचार गरेर स्वदेश फर्किएका छन्। सीताको उपचारका लागि अमेरिका गएका दाहाल बिहीबार साँझ काठमाडौं आइपुगेका हुन्।

त्रिभुवन विमानस्थलमा अध्यक्ष दाहाललाई नेकपाका महासचिव बिष्णु पौडेलले र प्रवक्ता नारायणकाजी श्रेष्ठले स्वागत गरेका थिए।

विमानस्थलमा पत्रकारसँग कुरा गर्दै दाहालले  अमेरिकामा रहेका केही नेपालीहरुले नेपाल र नेपाली नेतृत्वलाई नकारात्मक दृष्टिकोणले हेर्ने गरेको टिप्पणी गरे ।

उनले आफूमाथि पनि मेरिल्याण्ड अदालतमा उजुरी परे पनि त्यस्तो कुनै अप्रिय हर्कत नभएको र त्यहाँस्थित नेपाली दूतावासले त्यसो हुन नदिन व्यवस्थित योजना बनाएको पनि बताए । अध्यक्ष दाहालले पत्नी दाहालको अमेरिकाको तीनवटा अस्पतालमा उपचार गरिएको र त्यहाँबाट दिएको औषधीले स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको पनि जानकारी दिए ।

त्यसका अतिरिक्त अमेरिकास्थित पार्टीका नेता, कार्यकर्ता र त्यहाँस्थित नेपाली बुद्धिजीविहरुसँग पनि नेपालको समृद्धिका लागि आवश्यक छलफल गरिएको पनि बताए । उनले बासिङ्गटन र मेरिल्याण्ड राज्यका संसद र जनप्रतिनिधिहरुसँग पनि आफूले भेट गरी द्धिपक्षीय हितका विषयमा कुरा गरिएको पनि बताए ।

अध्यक्ष दाहाल गत चैत्र ३ गते आईतबार पत्नी सिताको स्वास्थ्य उपचारका लागि अमेरिका गएका थिए । दाहाल पत्नी सिता पार्किन्सन्स जस्तो एक प्रकारको जटिल रोगले पीडित रहेकी छिन् । अध्यक्ष दाहालले अमेरिकास्थित जर्ज टाउन हस्पिटल र जोन हकिन्स अस्पतालमा सो रोगको उपचार गरिएको र उपचारपछि स्वास्थ्यमा सुधार आएको पनि बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.