पत्थरीको उपचारका क्रममा ओम अस्पतालमा एक महिलाको मृत्यु, अस्पताल तनावग्रस्त

रिपोर्ट नेपाल | 2019 Sep 22 | 03:04 pm 1634

काठमाडौं, असोज  ५ : काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा पत्थरीको उपचारका क्रममा एक महिलाको ज्यान गएको छ ।

धादिङको गंगाजमुना गाउँपालिकाकी २९ वर्षीया अनिता गुरूङको पत्थरीको अपरेशन गने क्रममा ज्यान गएको हो । मृतकका आफन्तहरुले चिकित्सकको लापर्वाहीले बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।

शुक्रवार दिउँसो हिंडेरै अस्पताल पुगेकी गुरूङको चिकित्सकहरूले शनिबार पत्थरी निकाल्न अपरेशन गरेका थिए । अपरेशनपछि गुरूङको अवस्था सामान्य भएको भन्दै वार्डमा सारिएको थियो । तर, चिकित्सकले अवस्था सामान्य भनेको ६ घण्टा बित्न नपाउँदै उनको मृत्यु भएको मृतकका आफन्तहरुले बताएका छन् ।

यता अस्पताल प्रशासनले भने गुरुङको मृत्युको कारण अपरेशन नभइ हृदयघात (हर्ट अट्याक) का कारण भएको दाबी गरेको छ । आफन्तहरुले भने चिकित्सकले उपचारमा लापरबाही गरेका कारण अपरेशनपछि बिरामीको मृत्यु भएको भन्दै शनिबार अस्पतालमा आन्दोलन समेत गरेका थिए ।

केही समय पहिला ओम अस्पतालमै पत्थरीको अपरेशनको क्रममा आन्द्रा काटिदा सिन्धुपाल्चोक घर भएकी एक महिलाको मृत्यू भएको थियो । उपचारका क्रममा ओम अस्पतालमा यस्ता खालको घटना पटक–पटक दोहोरिंदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.