पण्डितलाई दक्षिणास्वरुप दिइने पैसा निर्धारण

| 2019 Aug 08 | 07:27 am 1555

चितवन, साउन २३: माडी नगरपालिकाले पण्डितलाई दक्षिणास्वरुप दिइने पैसा निर्धारण गरेको छ । नगरपालिकाको दोस्रो कार्यपालिका बैठकले दक्षिणास्वरुप १ सय १ कायम गरेको हो ।

दोस्रो नगरसभाको निर्णयबाट सार्वजनिक गर्दै नगरप्रमुख ठाकुर ढकालले समाजमा हुने भड्किलोपनलाई नियन्त्रण गर्न यो निर्णय गरिएको बताए ।

नगरप्रमुख ठाकुर ढकालका अनुसार निर्णय कार्यान्वयनका लागि सम्पूर्ण नगरवासीलाई अपिल गरिने बताए । हुने खानेले विवाह, व्रतबन्ध, पूजाआजालगायतका शुभकार्यमा बढी दक्षिणा दिने र हुँदा खानेले थोरै दक्षिणा दिने गर्दा समाजमा विभेद् निम्तिएको भन्दै नगरपालिकाले विभेद् अन्त्यका लागि यो निर्णय गरेको ढकालले जानकारी दिए ।

यस्तै माडीवासीले वैवाहिक कार्य गर्दा घरमा नै गर्नुपर्ने भएको छ । कार्यपालिका बैठकले घरमा विवाह गर्दा खर्च कम हुने भएकाले घरमा नै गर्नुपर्ने प्रावधान अघि सारेको हो । यसले खर्चमा कटौती हुने र देखावटी गरिने खर्चको नियन्त्रणसँगै समाजमा हुने विभेद्लाई समेत केही मात्रामा रोक्न सहयोग पुग्ने विश्वास रहेको प्रमुख ढकालले बताए ।

ढकालका अनुसार पार्टी प्यालेसमा विवाह गर्नुपर्ने बाध्यता रहेमा त्यहाँ गरिने खर्चको केही रकम नगरपालिकालाई बुझाउनुपर्ने हुन्छ । सो रकमबाट नगरपालिकाले अभिभावक गुमाएका बालबालिकाका लागि खर्च गरिने उनले जनाए ।

नगरपालिकाको कार्यपालिका सदस्यबाट तत्काल शुरुआत हुनेगरी दक्षिणा निर्धारण गरिएको नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.