न्यूरोडको अम्ब्रेला स्ट्रीट हटाइयाे

रिपोर्ट नेपाल | 2021 Jan 03 | 01:08 pm 2365

काठमाडौं, पुस १९ः न्यूरोडको संकटा क्षेत्रमा छाता राखेर बनाइएको ‘अम्ब्रेला स्ट्रीट’ बाट छाता हटाइएको छ। मानिसहरूको चाप थेग्न नसकेपछि टेवहालको सडकमाथि राखिएका छाता हटाइएको हो।

बजार व्यवसायलाई प्रचारप्रसारका लागि भन्दै त्यस क्षेत्रका स्थानीय, व्यापारी तथा संकटा क्लबले सडकमाथि छाता राखेका थिए। तर, अवलोकन गर्न आउनेको भीड थेग्न सक्ने अवस्था नरहेपछि हटाउन थालिएको संकटा क्लबका सचिव आशिषमान सिंहले जानकारी दिए।

दैनिक २० हजारभन्दा बढीले त्यस क्षेत्रको अवलोकन गर्दै आएका थिए। शनिबारको दिन झन् बढी आउने गरेका थिए।

छाता हटाइएपछि अवलोकनका लागि आएका निराश भएर फर्किन थालेका छन्। अवलोकनकर्तालाई व्यवस्थित गर्न नसकेपछि कोरोना संक्रमणको त्रासका कारण हटाइएको बताइएको छ।

आजसम्म झण्डै १० लाख मानिसले अवलोकन गरेको सचिव सिंहको भनाइ छ। संकटा क्लबको पहलमा करिब नौ लाख रूपैयाँ संकलन गरेर टेवहाल क्षेत्रको आकाशमा रंगीचंगी छाता राखिएको थियो।

राजधानीको व्यापारिक चहलपहल बढी हुने क्षेत्रमा बनाइएको ‘अम्ब्रेला स्ट्रीट’ धेरैको रोजाइमा पर्न थालेको थियो। एकातिर संकटा मन्दिरमा पूजा गर्न आउने र अर्कोतिर अम्ब्रेला स्ट्रीटको अवलोकन गर्न पाइने भएपछि भीड बढेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.