न्याय माग्न ८० किलाेमिटर यात्रा गरी जुम्ला सदरमुकाममा

| 2020 Nov 17 | 09:54 am 2119

जुम्ला, मंसिर २: हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बालिका बबिता रोकायाको हत्याबारे कमजोर मुद्दा बनाएर आरोपितलाई प्रहरीले धरौटीमा छोड्न थालेको भन्दै पीडित पक्षले प्रदर्शन गरेको छ ।

उनीहरु न्याय माग्न बसबाट ८० किलाेमिटर यात्रा गरी जुम्ला सदरमुकाम पुगेका छन् । सिंजाबाट जुम्ला पुगेका पीडितले शुक्रबार दोषीलाई कारबाहीको मागसहित आन्दोलन गरेका छन् । प्रदर्शनको क्रममा प्रहरीले लाठी चार्ज समेत गरेको छ ।

जुलुसलाई तितरवितर पार्न प्रहरीले लाठिचार्ज र अश्रुग्यास प्रहार गर्दा दुई पक्ष बीच झडप समेत भएको थियो । यस क्रममा ६ जना घाइते भएका छन्। पीडित पक्षबाट खाम्बा रोकाया, हरिभक्त कठायत र सुवि कठायत गम्भीर घाइते भएका छन्।

त्यसैगरी सशस्त्र प्रहरीका उदय खत्री र राजबहादुर रावत घाइते भएका छन् भने नेपाल प्रहरीका निदेश रोकाया घाइते भएका छन्। घाइते सबैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला उपचार भइरहेको छ।

बालिका हत्या आरोपमा हिमा गाउँपालिका (३ मोफ्ला गाउँका १९ वर्षीय करबहादुर भण्डारी र ३७ वर्षीय रामचन्द्र डाँगीलाई प्रहरीले पक्राउ गरेको थियो। आरोपित डाँगीलाई ५ कार्तिकमा र भण्डारीलाई ८ कार्तिकमा प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाएको छ। अन्नपूर्ण पाेष्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.