काठमाडौं फागुन १२ : नेपाली काँग्रेसका उपसभापति विमलिन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीमा थोरै पनि नैतिकता छभने राजिनामा दिनुपर्ने बताएका छन। आफ्ना पिता एवं काँग्रेसका दिवंगत नेता महेन्द्र नारायण निधिको ९९ औं जन्म-जयन्तीको अवसरमा काठमाडौंमा आयोजित विचार गोष्ठीमा उपसभापति निधिले सत्तापक्षमा दुई वटा समूह देखिएको उल्लेख गर्दै कुन चाहि सत्ताधारी र कुन चाहि प्रतिपक्षी भन्ने कुरा जनताले बुझ्न चाहेको बताएका छन।
नेकपामा दुई वटा समूह देखिएको भन्दै यसलाई कि त निर्वाचन आयोगले कि त सत्ता पक्षले नै छिनोफानो दिनुपर्ने निधिको भनाई रहेको थियो। संसदमा आधिकारिक पार्टी कुन हो? त्यो जान्नु जनताको हक भएको उनको भनाई थियो।
सत्ताधारी पार्टीको लाइन खुलेपछिमात्र काँग्रेसको भूमिका खुल्ने स्पष्ट पार्दै निधिले सरकार बनाउन काँग्रेसको संख्या नै नपुग्ने बताए। कुन आधिकारिक हो भन्ने थाहा भइसकेपछि बल्ल काँग्रेसको भूमिका के गर्ने भन्ने हुन्छ।
यो आफ्नो व्यक्तिगत कुरा भएको र यसमा सभापति शेरबहादुर देउवासँग वा अरु नेतासँग कुनै छलफल नभएको उनको भनाई थियो।
निधिले काँग्रेसको दुबै हातमा लड्डु छ भन्ने प्रश्नमा व्यंग्य गरे। उनले भने, ‘नेपाली काँग्रेसको दुबै हातमा लड्डु छ भने किन रिसाउनु भएको त? पत्रकारले पनि यही प्रश्न गर्छन्। के एउटा लड्डु चाहि पत्रकारलाई दिने त? कि दुबै फाल्दिने? कि काँटा लिने दुबै हातमा?’
अहिले प्रतिनिधि सभा पुनस्थापना भएर राजनीति लिगमा आएको उल्लेख गर्दै यस्तो बेला लिग भत्काउने ओली हरुको हातमा सत्ता दिन नहुने घुमाउरो भनाई समेत राखे।
काँग्रेसमा अहिले विभिन्न लाइनको कुरा आएको उल्लेख गर्दै सबै लाइन लोकतान्त्रिक लाइन भएको तर्क गरे। ‘अनेक लाइन छ। एउटा पुनस्थापनाको अर्को निर्वाचनको। दुबै बाटो लोकतान्त्रिक बाटो हो,’ देउवाको भनाईप्रति समर्थन जनाउँदै उनले थपे, ‘सभापतिले अदालतको निर्णयलाई स्विकार गर्नुपर्छ भन्नुभएको हो।’