नेविसंघको चियापानमा देउवाको रोइलो

रिपोर्ट नेपाल | 2018 Oct 09 | 04:34 pm 4123

काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेविसंघका नेताहरुले ध्रुर्वे हात्तिको संज्ञा दिएका छन् । मंगलबार राजधानीको वाल्मीकी क्याम्पसमा नेविसंघको १२ औं महाधिवेशन पक्षधर विद्यार्थी नेताद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले अधिनायकवादी शैलीले बहुमतबाट नेविसंघको विधान पारित गरेको आरोप लगाएका थिए ।

नेविसंघका नेता मनोजमणी आचार्यले १२ औं महाधिवेशन रोकेर आफ्ना हनुमानलाई टिका लगाइदिन पार्टी नेतृत्वले निरंकुश र अलोकतान्त्रिक कृयाकलापबाट विधान पारित गरेको आरोप लगाए । नेता आचार्यले आफूहरु उमेरको विरोधी नभएर नेतृत्वको कार्यशैलिको विरोध गरेको बताएका थिए ।

नेता आचार्यले नेविसंघ कमजोर हुँदा सिङ्गो कांग्रेस कमजोर हुने भएकाले टिके प्रथा अन्त्य गरेर १२ औं महाधिवेशन गर्न नेतृत्वलाई आग्र्रह गरेका थिए । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बुढी मरी भन्ने पिर भन्दा पनि काल पल्किएको पिर बढी भएकोले त्यस कुरामा सचेत रहन विद्यार्थीलाई आग्रह गरेका थिए ।

पूर्व महामन्त्री प्रतिमा गौतमले पार्टीभित्र बहुमतको डण्डा चलाएर महाधिवेशन रोक्ने षडयन्त्र भएको बताइन । पूर्व उपाध्यक्ष क्षितिज भण्डारीले लोभ लालचमा नपरी गलत कृयाकलापको विरोध गरे नेतृत्वलाई साइजमा ल्याउन सकिने धारणा राखेका थिए ।

नेपाली कांग्रेसकी महासमिति सदस्य तथा यूवा नेतृ लक्ष्मी खतिवडाले आफसँग भएको शक्तिलाई छिन्न भिन्न हुन नदिने हो भने जित सत्यकै हुने कुरामा जोड दिइन । उपाध्यक्ष प्रकाश रानाले नेविसंघले सर्वसम्मत निर्णयबाट निर्माण गरेको विधानलाई निर्देशक समितिका संयोजक प्रकाशशरण महतले तोडमोड गरेको आरोप लगाए ।

अर्का उपाध्यक्षद्धय रामप्रसाद अधिकारी र नवीन राईले पार्टी नेतृत्वले बहुमतबाट पेलेर नेविसंघलाई कमजोर पार्न खोजेको आरोप लगाए । विद्यर्थी नेता हिमालदत्त श्रेष्ठले कम्युनिष्ठ नेतृत्वको सरकारलाई सभापति देउवाले नालायक भन्दै गर्दा दिन प्रतिदिन पार्टीलाई क्षति पुर्याउने उहाँलाई हामीले पनि भन्न पाउने कि नपाउने ? भन्दैप्रश्न तेर्साएका थिए ।

नेविसंघका नेता दिपक भट्टराईले नेविसंघको विचार पुरानै भए पनि संस्कार समाप्त भएको बताए । कम्युनिष्ट सँग एक भएर लड्नु पर्ने बेला सभापति देउवाले बहुमतको दम्भमा अर्को थरीलाई पेलेर नेविसंघको १२ औं महाधिवेशन रोक्ने षडययन्त्र गरेको आरोप लगाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.