नेविसंघका संस्थापक नेताको अन्तिम संस्कार सम्पन्न

रिपोर्ट नेपाल | 2020 Feb 01 | 01:44 pm 4396

काठमाडौं, माघ १८: नेपाल विद्यार्थी संघका संस्थापक सदस्य तथा रेसुङ्गा बहमुखी क्याम्पस गुल्मी तमघासका पूर्व क्याम्पस प्रमुख प्रेमनाथ अर्यालको शनिबार पशुपतिको आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

नेपालको लोकतान्त्रिक आन्दोलनमा सकृय भूमिका निर्वाह गरेका अर्याललाई जिवित रहँदासम्म पार्टीले वास्ता नगरे पनि मृत्युवरण पश्चात झण्डा ओढाउन र श्रद्धान्जली दिनका लागि केन्द्रीय नेताको तछाड मछाड चलेको थियो ।

सभापति शेरबहादुर देउवाले संस्थापक नेविसंघको नेतालाई पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली अर्पण गरेका थिए । श्रद्धान्जलीका लागि बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री सशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह लगायत केन्द्रीय सदस्यहरुको उपस्थिती रहेको थियो ।

अन्तिम बिदाई कार्यक्रममा प्राध्यापक, बुद्धीजिवी, चिकित्सक, संचारकर्मी लगायत ठूलो संख्यामा नेपाली कांग्रेसका कार्यकर्ता र सर्वसाधारणको उपस्थिती रहेको थियो । शुक्रबार साँझ त्रिवि शिक्षण अस्पतालमा निधन भएका नेता अर्याल इमान्दार र सादगी नेता भएको नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति त्रैलोक्यप्रताप सेनले बताएका छन् । जीवनभर लोकतन्त्र र समाजवादका लागि लडेका प्रेमनाथ अर्यालको निधनले जिल्लाको कांग्रेसलाई मात्रै नभएर सिङ्गो मुलुकलाई अपुरणिय क्षति पुगेको सेनको भनाई रहेको छ ।

त्यस्तै नेपाली कांग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले आफ्नो प्रतिकृया दिँदै वितेको यो एक वर्षमा दुई महापुरुष गुमाउनु परेको पीडा भन्दा पनि उहाँहरुको त्याग र बलिदानको कदर नभएको अझ बढी पीडा भएको बताएका छन् ।

नेपाली कांग्रेसले यस अघि रुद्रमणी भण्डारी जस्तो नेता गुमाउनु परेको थियो भने अहिले प्रेमनाथ सर जस्ता नेता गुमाउदा राजनीतिक रुपमा आफू टुहुरो भएको अनुभूति भएको सचिव पन्थीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.