नेविसंघ अध्यक्ष नैनसिंह महरद्वारा राजीनामा

| 2019 Feb 11 | 03:47 pm 1626

काठमाडौं, माघ २८ : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् ।  पार्टी कार्यालय सानेपामा सोमबार दिउँसो पत्रकार सम्मेलन गरी  पार्टी अध्यक्ष शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

महरले पार्टीको केन्द्रीय समितिमा नेविसंघबारे मतमतान्तर देखिएकाले आफूले अध्यक्षबाट राजीनामा दिएको बताए।  राजीना दिदैँ महरले पार्टी सभापति शेरबहादुर देउवालाई सचेत भएर तदर्थ समिति गठन गर्न आग्रह समेत गरे । “तपाईंको कोटरीले गर्दा नेविसंघ यो हालतमा आयो । कोटरीकै कुरा सुनेर अगाडि बढ्नु भो भने दुर्घटनामा पर्नुहुन्छ,” महरले सभापति देउवासँग भने, “दाइ सचेत हुनुस्, नेता चयन गर्दा ख्याल गरेर गर्नुहोला ।”

उनले महाधिवेशनबाट निर्वाचित भएर आएको व्यक्ति भएकाले महाधिवेशन र स्ववियू निर्वाचन सम्पन्न गर्ने अर्जुन दृष्टि हुँदाहुँदै विधान अनुसार कार्यकाल समाप्त भइसकेको र यसबारे केन्द्रीय समिति विभाजित भएकाले पदमा बस्नुको अर्थ नदेखेर राजीनामा दिने निष्कर्षमा पुगेको बताए।

नेविसंघको १२ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि महर नेतृत्वको कार्यसमिति आलोचित बन्दै आएको थियो । त्यसैले गत २७ पुसमै महामन्त्री सरोज थापासहितका ७ पदाधिकारीहरुले राजीनामा दिएका थिए ।

११ औं महाधिवेशनबाट निर्वाचित महर नेतृत्वको नेविसंघको कार्यसमितिको म्याद भदौ २ गतेसम्म थियो । तर आन्तरिक विवादका कारण महाधिवेशन हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो । थपिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि पुनः दुई महिनाको म्याद थपिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद माघ २ गते सकिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.