काठमाडौँ मंसिर १९ : नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत सेयर धितो कर्जामा पुनरावलोकन गर्ने बताएपछि आइतबार बजारमा उच्च गिरावट देखिएको छ। सेयर बजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि नेगेटिभ सर्किट लागेर निर्धारित समय अगाडि नै कारोबार बन्द भएको छ।
एक महिनामा चार सय अंकभन्दा बढीले बढेको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न बिक्रीचाप बढाएकाले पनि बजार ओरालो लागेको हो । आइतबार मात्रै नेप्से परिसूचक ६ प्रतिशत अर्थात् १ सय २३ दशमलव ३४ अंकले घटेर एक हजार नाै सय ३२ दशमलव ११ अंकमा बन्द भएको छ ।
नेप्सेमा आज भएको गिरावट अहिले सम्मकै उच्च हो। यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५ दशमलव ५१ प्रतिशत अर्थात २१ दशमलव ६२ अंकले घटेर ३ सय ७० दशमलव ६७ अंकमा बन्द भएको छ। आज नेप्सेमा ६ प्रतिशतको नकारात्मक सर्किट लाग्दा २ बजेर १४ मिनेटमा नै कारोबार बन्द हुन पुग्यो।
हिमालयन बैंकको डिबेन्चर, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, मन्जुश्री फाइनान्सलगायतका कम्पनीका सेयरधनीहरूले कमाएका छन् । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १० प्रतिशतले गुमाएका छन् ।
पुनर्बिमा कम्पनी, सान्जेन जलविद्युत् कम्पनी, नेपाल दूरसञ्चार कम्पनी, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट, हिमालयन जेनरल इन्स्योरेन्स कम्पनीलगायतका कम्पनीका सेयरधनीले पनि झन्डै १० प्रतिशतले गुमाएका छन् ।