नेपाली र भारतीय मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

| 2022 May 17 | 05:30 pm 1501

माेरङ, जेठ ३: नेपाली र भारतीय नम्बर प्लेटका मोटरसाइकल चोरी गर्ने ठूलो गिरोहलाई मोरङ प्रहरीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको छ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार विभिन्न समयमा चोरी भएका ७ वटा मोटरसाइकलसहित गिरोहका ७ जनालाई पक्राउ गरिएको हो। विराटनगर महानगरपालिका–४ र ५ बाट पक्राउ परेकामध्ये ५ जना मोटरसाइकल चोरी गर्ने र २ जना चोरीका मोटरसाइकल किनबेच एवं व्यवस्थापन गर्ने धन्दामा संलग्न रहेको पाइएको श्रेष्ठले बताए।

प्रहरीले मोरङको जहदा गाउँपालिका–१ का २० वर्षीय हरिओम मण्डल, पन्नलाल राजवंशी, १८ वर्षीय विशाल राजवंशी, कटहरी गाउँपालिका–२ का २४ वर्षीय मनिष बस्नेत र विराटनगर–४ का २२ वर्षीय प्रकाश राजवंशीलाई पक्राउ गरेको हो। उनीहरु लामो समयदेखि मोटरसाइकल चोरीमा संलग्न रहेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।

उनका अनुसार चोरीको मोटरसाइकल किनबेच तथा व्यवस्थापन गर्ने धन्दामा संलग्न धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का ३२ वर्षीय थामबहादुर राई र ३५ वर्षीय मानकाजी राईलाई पनि पक्राउ गरिएको छ। सातै जनाविरुद्ध चोरी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको कोइरालाले बताए।

पक्राउ परेकाहरुले विभिन्न समयमा चोरी गरेका प्रदेश १–०२, ०४६ प ६४०, प्रदेश १–०२–०४७ प ३९२४, को १३ प ८२७५, प्रदेश १–०२–०४४ प २५७, को ८ प ६७५, बीआर ३८ डी ४५०४ र बीआर ३८ जेड ८९७२ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ। मोटरसाइकल चोरी गर्दै गिरोहले भारत र पूर्वी पहाडी जिल्लासम्म पुर्याएर बिक्री गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। एउटा मोटरसाइकललाई ४० देखि ६० हजार रूपैयाँसम्ममा बिक्री गर्ने गरेको एसपी कोइरालाको भनाइ छ।

मोटरसाइकल चोरी बढेको पाइएपछि नियन्त्रणका लागि मोरङ प्रहरीले डीएपसी राजन कार्कीको नेतृत्वमा विशेष टोली तयार पारेर परिचालन गरेको थियो। विशेष अप्रेशन चलाएको टोलीले चोरी गर्ने गिरोहलाई समातेको हो।

‘मोटरसाइकल चोरी बढेको सूचनाका आधारमा नियन्त्रणमा लिन प्रहरीले सक्रियता बढाएको छ,’ कोइरालाले भने, ‘त्यसका लागि विशेष टोली नै बनाएर परिचालन गरिएको छ।’ चोरीमा संलग्न अन्य केही व्यक्तिका बारेमा सूचना आएको र शंकास्पद व्यक्तिको खोजी तीव्र पारिएको उनको भनाइ छ।

उनका अनुसार पक्राउ परेकामध्ये केही व्यक्ति यसअघि पनि मोटरसाइकल चोरीमा संलग्न भएर कारबाहीमा परिसकेको खुलेको छ। ‘मोटरसाइकललगायतका सवारीसाधनको चोरी रोक्न विशेष अभियान चलाइएको छ,’ एसपी कोइरालाले भने, ‘यसमा संलग्नलाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाउँछौं।’ प्रदेश १ को राजधानी विराटनगरमा दैनिकजसो मोटरसाइकल चोरीका घटना भइरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.