नेपाली कांग्रेसको महाधिवेशन कहिले ?

| 2021 Aug 12 | 06:58 am 2613

काठमाडौँ साउन २८: क्रियाशील सदस्यता लगायतका विवादकै कारण तोकिएको समयमा महाधिवेशन हुने सम्भावना टरेपछि महाधिवेशनसम्बन्धी छलफल गर्न नेपाली कांग्रेसको बैठक आज पार्टी कार्यालय सानेपामा बस्दैछ ।

क्रियाशील सदस्यतासम्बन्धी विवाद मिलाउन नसकेपछि तल्लो तहका चुनावको मिति टरिसकेको छ भने केन्द्रीय महाधिवेशनका लागि पनि जम्मा २० दिन मात्र बाँकी छ । केन्द्रीय समितिले भदौँ १६ देखि १९ सम्म राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरिसकेको थियो ।

नेपाली कांग्रेसले सार्वजनिक गरेको कार्यतालिकाअनुसार साउन २४ गतेभित्र वडा, गाउँ नगर, प्रदेश, संघीय, जिल्लाको अधिवेशन सकिसक्नुपर्ने थियो । सार्वजनिक कार्यतालिका अनुसार अब भदौं १ र २ मा हुने प्रदेशको अधिवेशन र केन्द्रीय महाधिवेशन मात्रै बाँकी छन् । तल्लो तहका निर्वाचन तोकिएको समयमा नभएपछि माथिल्लो तहका निर्वाचन पनि तोकिएको समयमा हुने देखिँदैन । निर्धारित कार्यतालिका अनुसार निर्वाचन हुन नसकेपछि पार्टीमा वैधानिक संकट आउनसक्ने भन्दै क्रियशील सदस्यतासम्बन्धी विवादमा रहेका स्थानलाई थाँती राखेर महाधिवेशन गर्नुपर्ने आवाज उठ्न थालेको आजको नेपाल समाचारपत्रमा भूपराज बस्यालले समाचार लेखेका छन्।

विवाद मिलाउन गठित समितिले विवाद मिलाउन नसकेपछि क्रियाशील सदस्यतासम्बन्धी विवाद मिलाउने जिम्मेवारी पुनः पार्टी नेतृत्वमै फर्किएको छ । विवाद मिलाउन गठित समितिले आफूले गरेको कामको विवरणसहित साउन १२ गते पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाएको थियो । समितिले बुझाएको उक्त प्रतिवेदनमा समेत छलफल हुन सकेको छैन ।

अझै पनि समयमै महाधिवेशन गर्न सम्भव छ : रामचन्द्र पौडेल, वरिष्ठ नेता

पाटी सभापति अझै पनि जिम्मेवार भएर पार्टीको महाधिवेशन गर्ने हो भने भदौ १६ देखि १९ पार्टीको राष्ट्रिय महाधिवेशन सम्भव छ । पार्टी नेतृत्व जिम्मेवार नहुँदा समयमै महाधिवेशन हुन सकेन । यसले पार्टीमा वैधानिक संकटसमेत सिर्जना भएको छ । यदि, समयमै पार्टीको महाधिवेशन गर्न सकिँदैन भने पार्टीको वैधानिकता जोगाउन विशेष महाधिवेशन भए पनि गरौं भन्ने मेरो भनाइ हो ।

मङ्सिरसम्म सार्न सकिन्छ : विमलेन्द्र निधि, उपसभापति

तोकिएको समयमा महाधिवेशन नहुने पक्का भयो । त्यसैले मंसिरभित्र केन्द्रीय महाधिवेशन सक्ने गरी नयाँ मिति सार्वजनिक गर्नुपर्छ ।

निर्वाचन आयोग र कानुन विद्हरूसँग छलफल गरेर अब नयाँ मिति तोक्नुको विकल्प छैन । सभापतिको दाबेदारको हिसाबले महाधिवेशन छिटो होस् भन्ने मेरो चाहना हो, तर मेरो मात्रै कारणले हुने कुरा भएन । त्यसैले, सबैलाई समेट्ने गरी महाधिवेशन हुनुपर्छ । क्रियाशील सदस्यतासम्बन्धी विवादलाई मिलाएर नयाँ मिति सार्वजनिक गरेर अगाडि बढ्नुपर्छ ।

जनतालाई पूर्ण खोप दिएपछि मात्रै महाधिवेशन : गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य तथा पूर्व उपसभापति

देशमा कोभिडको महामारी बढेको छ । सबै जनतालाई खोपको व्यवस्था गरेर महाधिवेशन गर्नु वेश हुन्छ । जनताप्रति उत्तरदायी बनेको पार्टीले पहिले जनताको स्वास्थ्यको ख्याल गर्नुपर्छ । कोरोनाको कारण लकडाउनको समयलाई शून्य समय मानेर पनि वैधानिक संकट टार्न सकिन्छ । पहिला जनता अनि वैधानिकता । यही रफ्तारमा अगाडि बढे दशंैसम्ममा सरकारले सबै जनतालाई खोप उपलब्ध गराउन सक्छ ।

यतिबेला वर्षात्को पनि समय छ । सबै खेतीपातीमा व्यस्त छन् । पहाडतिर पहिरोले गाउँ–गाउँ जाने अवस्था पनि छैन । त्यसैले सबैलाई अनुकूल हुनेगरी समय सार्न सकिन्छ । वर्षात्को समय र कोभिडलाई मध्यनजर गर्दै महाधिवेशन केही समय पर सारौं ।

महाधिवेशनमा महिलालाई प्राथमिकता दिनुपर्छ : डा. डिला संग्रौला, केन्द्रीय सदस्य

नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा महिलाहरू नेतृत्वमा आउनुपर्छ । राज्यको हरेक निकायमा महिलाको सहभागिता अनिवार्य हुनुपर्छ । हरेक निकायमा महिला कोटा सुनिश्चित गरिए पनि उच्च नेतृत्वमा महिलाको सहभागिता खासै हुन सकेको छैन अब प्रत्येक क्षेत्रमा महिलाको सहभागिता बढाउनुपर्छ । त्यसैले नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले सह–महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेकी छु । निर्धारण गरिएको समयमा चुनाव हुन नसकेपछि अब नयाँ मिति सार्वजनिक गरेर छिटोभन्दा महाधिवेशन गर्नुपर्छ । महाधिवेशन जहिले भए पनि महिलालाई प्राथमिकतामा राखिनुपर्छ ।

नेतृत्वको अनुकूलता नहुँदो मिति टरेको हो : प्रदीप पौडेल, केन्द्रीय सदस्य तथा क्रियाशील सदस्यता छानबिन समिति

क्रियाशील सदस्यता विवादका कारण होइन, नेतृत्वको अनुकूलता नहुँदा महाधिवेशनको मिति टरिरहेको छ । ९६ प्रतिशत काम सकिसकेको छ, बाँकी ४ प्रतिशतलाई थाँती राखेर फास्ट ट्रायकबाट अझै पनि समयमै महाधिवेशन गर्न सकिन्छ । समायोजनसम्बन्धी पार्टीमा प्रस्ट खाका नहुँदा ४ जिल्लाको मात्रै समायोजनको काम टुंगो लगाउन नसकेको विवाद केन्द्रीय समितिले पनि लगाउन सक्दैन ।

१३औं महाधिवेशन ३३ जिल्ला स्थगित भएर ४ लाख ७० हजारमा क्रियाशील सदस्यका बीच सम्पन्न भएको थियो भने यसपटक क्रियाशील सदस्यता झण्डै आधा बढेर ९ लाखको हाराहारीमा पुगेको छ । हाल रसुवा, सप्तरी, बारा र सिन्धुपाल्चोक गरी जम्मा ४ जिल्लामा विवाद छ, त्यो पनि नयाँ सदस्यता र समायोजनसम्बन्धी मात्रै विवाद हो यो विवाद मिलाउदा करिब २५ हजार नयाँ क्रियाशील सदस्य थपिने हो । २५ हजार सदस्यको विवादले पार्टीलाई अनिर्णयको बन्दी बनाउनु हुँदैन ।

औपचारिक निवेदन आएको छैन : राजकुमार श्रेष्ठ, प्रवक्ता, निर्वाचन आयोग

विधानतः ५ वर्षमा पार्टीको महाधिवेशन गरिसक्नुपर्ने हुन्छ । विशेष अवस्था ६ महिना थप गर्न सकिने हुन्छ । नेपाली कांग्रेसको सन्दर्भमा अहिलेसम्म औपचारिक छलफल भएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.