नेपालले उच्च आर्थिक वृद्धि गर्ने संभावना रहेपनि निकै चुनौतिपूर्ण छ : विश्व बैंक

रिपोर्ट नेपाल | 2018 Nov 02 | 02:54 pm 2748

काठमाडौँ, कार्तिक १६ :  विश्व बैंकले नेपालले मध्यम आय भएका मुलुकमा स्तरोन्नती हुन निरन्तर ठूलो र दीगो आर्थिक विकास गर्नुपर्ने औंल्याएको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै विश्व बैंकले सहज विद्युत आपूर्ति, राजनीतिक स्थिरता र समष्टिगत अर्थतन्त्रमा स्थायित्वका कारण नेपालले उच्च आर्थिक वृद्धि गर्ने संभावना रहेपनि त्यो निकै चुनौतिपूर्ण रहेको औंल्याएको हो ।

पाँच वर्षमा नेपालले औषतमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको र त्यस अवधिमा औषत ५ प्रतिशतको मुद्रास्फिति रहने अनुमान विश्व बैंकको छ । बैंकले सन् २०२२ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुने र २०३० सम्ममा मध्यम आय भएका मुलुकमा स्तरोन्नती हुन स्रोत परिचालनलाई मुख्य चुनौति ठानेको छ । रेमिट्यान्सलाई खासै चासो नदिएको नेपाल सरकारले ठूला बजार, पूर्वाधार र सहयोगी नीतितर्फ ध्यान दिनुपर्ने विश्व बैंकको सुझाव छ ।

‘नेपाल डेभलपमेन्ट अपडेट’ सार्वजनिक गर्दै अर्थमन्त्री यूवराज खतिवडाले अर्थतन्त्रमा बेलाबखत देखिने बाह्य झट्काको असर कम गर्न र नेपाली अर्थतन्त्रलाई चलायमान बनाइ राख्न संरचनागत सुधार गर्नुपर्ने बताए । ठूला देशले व्यापार युद्धका नाममा व्यापारिक संरक्षणवाद लागू गर्न खोज्दा त्यसको नकारात्म प्रभावबाट नेपालजस्ता मुलुक गुज्रिएको अर्थमन्त्रीको भनाइ थियो ।

अर्थमन्त्री खतिवडाले लोककल्याणकारी अवधारणामा काम गर्दा रोजगादातले श्रमिकको सामाजिक सुरक्षालगायतका पाटोमा पनि योगदान गर्नु परेकाले विकास र लगानीका विषयमा प्रतिवेदनमा उल्लेखित तथ्यांक केही तल माथि देखिएको हुनसक्ने औंल्याउए। बैंकले विश्व व्यापार गर्न सहज १ सय ९० देशको सूचीमा नेपाललाई १ सय ५ औं स्थानमा राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.