नेपालमा कम्युनिस्ट आन्दोलन सफल भएको र सरकार पनि सफल हुनुपर्छः नेता माधव नेपाल

रिपोर्ट नेपाल | 2018 Sep 13 | 03:39 pm 1406

भक्तपुर, भदौ २८:  नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा कम्युनिस्ट आन्दोलन सफल भएको जनाएका छन् ।

पहिलो कम्युनिष्ट विद्यालयका रुपमा स्थापना भएको मदन भण्डारी एशियाली विद्यालयले भक्तपुरको खरिपाटीमा सञ्चालन गरिरहेको विश्वको कम्युनिष्ट इतिहास र वर्तमानका बारेमा भइरहेको प्रशिक्षणमा नेता नेपालले कम्युनिष्ट नेतृत्वको सरकार सफल हुनुपर्ने बताए।

अहिले नेपालमा कम्युनिस्ट व्यवस्थाले नेकपा र देशलाई एउटा मौका दिएको छ यो मौकाको फाइदा नेपालले उठाउनुपर्छ, नेपालमा कम्युनिष्ट आन्दोलन सफल भयो, कम्युनिष्ट नेतृत्व सरकार पनि सफल हुनुपर्छ भन्ने नेता नेपालको भनाई रहेको थियो ।

अहिलको कम्युनिष्ट सरकारले मुलुक समृद्धि र विकासतिर लम्किरहेको बताउँदै नेपालले नेकपा नेतृत्वको सरकारले जनतासँग माछा र पानीको तथा नङ र मासुको जस्तो सम्बन्ध राखेर काम गर्नुपर्नेमा जोड दिएका छन्।

शिक्षा, सिँचाइ, सडक, सीप, सरसफाइ र स्वास्थ्यको क्षेत्रमा विशेष काम गर्नुपर्ने भनाइ राख्दै नेता नेपालले भ्रष्टाचारलाई शून्य सहनशीलतामा झार्ने बताए ।

नेता नेपालले देशमा अब सामाजिक, आर्थिक र सांस्कृतिक क्रान्ति गर्नुपर्छ भन्दै यो जिम्मेवारी नेकपाको काँधमा आएको छ भने ।

दुई ठूला कम्युनिष्ट पार्टीलाई एकीकरण गरेर विश्व समुदायसमक्ष ऐतिहासिक कार्य गरेको चर्चा गर्दै नेता नेपालले यो एकतालाई दिगो बनाउन तल्लो तहसम्मको एकीकरण विधि र प्रक्रियालाई व्यवस्थित बनाउनु जरुरी रहेको औँल्याएका छन्।

भदौ ९ मा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका २१ दिने प्रशिक्षण भोलि शुक्रबारसम्म सञ्चालन हुनेछ । प्रशिक्षणमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, थाइल्याण्ड, अर्जेन्टिना, ब्राजिल, तान्जिनिया, ट्युनिसिया, स्टिमोर, फिलिसिन्स, जाम्भिया, कोलम्बिया गरी १४ देशका ४९ जनाको सहभागिता रहेको कार्यक्रम व्यवस्थापन समितिका संयोजक बलराम बाँस्कोटाले जानकारी दिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.