नेपालको राजस्वमा प्रत्यक्ष करको हिस्सा निकै कमजोर

रिपोर्ट नेपाल | 2021 Jun 28 | 08:14 am 1741

काठमाडाैं, असार १४ः नेपालको राजस्वमा प्रत्यक्ष करको हिस्सा निकै कमजोर देखिएको छ । जसका कारण अर्थतन्त्र सबल हुन सकेको छैन ।

अधिकांश राजस्व अप्रत्यक्ष करबाट प्राप्त हुने हुँदा दिगो नभएको विज्ञहरु बताउँछन् । आम्दानी र सम्पत्तिमा आधारित करको हिस्सा थोरै हुँदा मुलुकको अर्थतन्त्र नै कमजोर र दिगो नहुने उनीहरुको भनाइ छ ।

त्यस्तै अप्रत्यक्ष कर अन्तर्गत मूल्य अभिवृद्धि कर (भ्याट)को ठूलो हिस्सा समेत सामान आयात/निर्यात गर्दा भन्सारमा उठ्ने गरेको पाइएको छ । अर्थात् आन्तरिक उत्पादनबाट निकै कम भ्याट उठ्ने गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७६-७७ मा २८.३९ प्रतिशत आयकर अर्थात् प्रत्यक्ष कर संकलन गरेको थियो भने चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा २५.३१ प्रतिशत प्रत्यक्ष कर उठेको थियो । बाँकी अप्रत्यक्ष कर उठ्ने गरेको छ । त्यस्तै चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा आयात/निर्यात आधारीत कर र आन्तरिक तर्फको कर क्रमशः ४९.३ र ५०.७ रहेको तथ्यांकले देखाएको छ ।

प्रत्यक्ष र अप्रत्यक्ष करका रुपमा प्राप्त हुने राजस्वमा प्रत्यक्ष करको हिस्सा ३० प्रतिशत पनि नरहेको अर्थविद् प्रा.डा. चन्द्रमणि अधिकारी बताउँछन् । ‘प्रत्यक्ष कर, सम्पत्ति तथा आयमा आधारित कर हो,’ उनले भने, ‘हाम्रो समग्र कर संरचनामा प्रत्यक्ष करको हिस्सा मात्र २५ देखी ३० प्रतिशतसम्म रहने गरेको छ ।’ नेपालमा प्रत्यक्ष करको मापन आयकरबाट हुने गरेको छ ।

उनका अनुसार, प्रत्यक्ष करले देशको उन्नति, प्रगति र त्यहाँको अर्थतन्त्रलाई जनाउँछ । अधिकारीका अनुसार संयुक्त राज्य अमेरिकामा प्रत्यक्ष करको हिस्सा झण्डै ९० प्रतिशतको हाराहारी छ । त्यस्तै भारतमा पनि ५० प्रतिशत भन्दा माथि रहेको उनी बताउँछन् । ‘१५ वर्ष अगाडि भारत र नेपालको प्रत्यक्ष करको हिस्सा उस्तै उस्तै थियो,’ उनी भन्छन्, ‘अहिले भारतमा त्यो बढेर ५१ प्रतिशत पुगेको छ भने, नेपालको अवस्था पहिलेको जस्तै छ ।’ राजस्वमा प्रत्यक्ष करको हिस्सा ४५ प्रतिशत भएमा त्यो कर संरचना दिगो हुने भन्दै उनी अहिलेको नेपालको कर संरचना दिगो नरहेको बताउँछन् । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.