नेपालको ओलम्पिक यात्रा

| 2021 Jul 24 | 07:28 am 2917

काठमाडौँ, साउन ९ः टोकियो ओलम्पिकमा नेपालको पनि सहभागिता रहेको छ । यसपटक पाँच खेलाडीले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् । नेपालका लागि पौडीकी गौरिका सिंह र अलेक्जान्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार तथा जुडोकी सुनिया भट्टले टोकियोमा खेल्नेछन् । मार्चपासमा नेपालको झण्डा पौडीकी कीर्तिमानी खेलाडी गौरिका र अलेकजेन्डरले बोके ।

ओलम्पिकमा नेपाल अहिलेसम्म पदकको नजिक पुग्न सकेको छैन । यद्यपि ओलम्पिकमा नेपालका केही उल्लेखलायक क्षण छन् । नेपालले प्रथम पटक सन् १९६४ मा जापानको राजधानी टोकियोमा नै आयोजना गरिएको १८औँ ओलम्पिकमा सहभागिता जनाएको हो ।

सो ऐतिहासिक सहभागितामा नेपालका भुपेन्द्रबहादुर केसी र गङ्गाबहादुर थापाले (म्याराथन), नामसिंह थापा, ओमप्रसाद पुन, रामप्रसाद गुरुङ र भीमबहादुर थापा (बक्सिङ) मा प्रतिस्पर्धा गरेका थिए । आधिकारिक रूपमा टोकियो ओलम्पिक नेपालको पहिलो ओलम्पिक भए पनि नेपालले सन् १९५२ मा फिनल्यान्डको राजधानी हेलसिन्कीमा आयोजना गरिएको १५औँ ओलम्पिकमा पर्यवेक्षकको रूपमा भाग लिइसकेको थियो ।

सन् १९६८ मा मेक्सिकोको राजधानी मेक्सिको सिटीमा सम्पन्न १९औँ ओलम्पिकमा नेपालले भाग लिएन । त्यसपछि नेपालले लगातार ओलम्पिकमा सहभागिता जनाएको छ ।

सन् १९८८ मा दक्षिण कोरियाको सोल ओलम्पिकमा नेपाल खेलकुदमा विशेष रह्यो । सोल ओलम्पिकमा समावेश गरिएको तेक्वान्दोमा नेपालका विधान लामाले कास्य पदक जिते । उनकै खेलले ओलम्पिकमा राष्ट्रिय गानसहित नेपालको ध्वजा फहरिए । तर आधिकारिक खेल नभएका कारण विधानको सफलताले नेपाललाई पदक तालिकामा उपस्थित गराउन सकेन ।

सन् २००४ को एथेन्स ओलम्पिकमा नेपालकी तेक्वान्दो खेलाडी सङ्गिना वैद्य छनोट चरण पार गरेर ओलम्पिकमा खेल्ने नेपालकी पहिलो खेलाडी बनिन् । सन् २००८ मा तेक्वान्दोकै दीपक विष्ट पनि छनोट चरण जितेरै बेइजिङ ओलम्पिकमा पुगेका हुन्। गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.