नेपाल पक्षका युवा नेताहरुले राजनीतिक दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन

रिपोर्ट नेपाल | 2021 May 23 | 12:15 pm 1993

काठमाडाैं, जेठ ९ः नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका युवा नेताहरुले राजनीतिक दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

जीवन राई अध्यक्ष रहेको उक्त दलको नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत)  राखिएको छ । उनी माधव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् । गत वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

२५ सदस्यीय केन्द्रीय कमिटी रहेको उक्त दलमा अध्यक्षमा जीवन राई, कल्पना गुरुङ उपाध्यक्ष, बिनोद कुमार खुलाल महासचिव,  ऐन बिक्रम कुँवर सचिव र सुशीला खनाल कोषाध्यक्ष रहेका छन् ।

दल दर्ताका लागि पेश गरेको कागजात अध्ययन गर्ने काम  भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनले भने–‘दल दर्ताका लागि प्राप्त निवेदन र कागजात अध्ययन गर्ने काम भइरहेको छ ।  पार्टीको विधान, घोषणापत्र, केन्द्रीय कमिटी बैठकका माइन्यूट, पदाधिकारीको हस्ताक्षरको सनाखत लगायतको अध्ययन भइरहेको छ । सबै प्रक्रिया पुगेको रहेछ भने आयोगको निर्णयबाट दल दर्ता हुन्छ ।’

नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला माधव पक्षका युवा नेताहरुले दल दर्ताका लागि निवेदन दिएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.