नेपाल छिर्न लागेका २६ भारतीय नाकाबाटै फिर्ता

| 2020 Mar 22 | 12:07 pm 1946

दाङ, चैत ९: नेपालगञ्ज हुँदै दाङको तुलसीपुर आउन लागेका २६ जना भारतीय नागरिकलाई फिर्ता पठाइएको छ।

कोरोना भाईरसको जाँचका लागि स्थापना गरिएको हेल्थ डेस्क तुलसीपुर १३ दमारगाउँबाट उनीहरूलाई फिर्ता पठाइएको हो।

शनिबार नेपालगञ्जबाट तुलसीपुरतर्फ आउँदै गरेको बसमा सवार उनीहरूलाई सोधपुछ गर्दा भारत हुँदै नेपाल आएको खुलेपछि फिर्ता पठाइएको बताइएको हो।

उनीहरूले बिजौरीका विभिन्न ईंट्टाभट्टामा काम गर्नका लागि तुलसीपुर आएको बताएका छन्।

हेल्थ डेस्कमा जाँच तथा सोधपुछ गर्ने क्रममा उनीहरूलाई फिर्ता पठाइएको तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबर्द्धन जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिए ।

विशेषगरी भारतको नाकासँग जोडिएको जिल्ला भएकाले नेपालगञ्जदेखि तुलसीपुर आउने यात्रुहरूका लागि दमारगाउँ र हवाई यात्रा प्रयोग गर्नेहरूलाई लक्षित गदै टरिगाउँ एयरपोर्टमा हेल्थ डेस्क स्थापना गरिएको छ।

भारतमा समेत कोरोनाको संक्रमण देखिएको हुँदा उनीहरूलाई हाल तुलसीपुर आउन रोक लगाईएको हो।

तर हालसम्म पनि कसैमा कोरोना भाईरस शंकास्पद फेला नपरेको जनस्वास्थ्य निरीक्षक केसीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.