नेत्रविक्रम समूहलाई वार्तामा आउन चैतसम्मको अल्टिमेटम

रिपोर्ट नेपाल | 2019 Mar 26 | 07:06 am 1498

काठमाडौँ, चैत्र ११ : नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई वार्ताद्वारा शान्ति प्रकृयामा नआए सरकार ब्याकगियर लगाएर पछि नहट्ने बताएको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपालाई हतियार बिसाएर वार्तामा आउनका लागि चैत महिनासम्मको अल्टिमेटम दिएका छन् । प्रतिपक्ष दल नेपाली काँंग्रेसले वार्ताबाट समस्या समाधान गर्न भनिरहेकै बेला प्रधानमन्त्री ओलीले यो महिनाभित्र हतियार बिसाएर वार्तामा नआए सरकार नियन्त्रणका लागि अझ आक्रामक बन्ने संकेत दिएका छन् ।

नेकपा संसदीय दलद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चन्द समूहका गतिविधि हिंसात्मक भएकाले त्यसलाई रोक्न राज्यले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे।
चैत महिना भरीमा हतियार बिसाएर वार्तामा आउन आग्रह गर्दै प्रम ओलीले सरकारले वार्ताको ढोका बन्द नगरेको र वार्तामा नआए उनीहरुको गतिविधिलाई सम्पूर्ण रुपमा नियन्त्रणमा लिइने बताए ।

चन्द समुहले विकास आयोजना, दुरसञ्चारका टावर, सरकारी तथा नीजि कार्यालयहरुमा विस्फोट, स्थानीय निकाय, व्यापारी व्यावसायी लगायतसँग चन्दा उठाउने क्रियाकलाप बढाएको भन्दै ओलीले यस्तो गतिविधि सरकारले टुलुटुलु हेरेर बस्न नसक्ने बताएका थिए ।

बैठकमा प्रधानमन्त्री ओलीले सांसदहरुलाई सरकारले गरेका कामको सकारात्मक सन्देश लिएर जिल्ला जान निर्देशन दिए। संसदको अधिवेशन सकिएकाले अर्को अधिवेशन सुरु हुने अवधिसम्म सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा जान लागेकाले त्यहाँकसरी प्रस्तुत हुने भन्ने विषयमा प्रशिक्षण दिन संसदीय दलको बैठक बसेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.