नेतृत्वलाई दवाव दिन नेविसंघको धर्ना

| 2018 Nov 25 | 02:21 pm 1642

काठमाडौँ, मंसिर ९ : महाधिवेशन सम्पन्न भएको दुई वर्ष नाघ्दा समेत पार्टी नेतृत्वले हचुवाको भरमा दुई महिना म्याद थप गरेको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर विद्यार्थी नेताहरुले आइतबार पार्टी कार्यालयमा नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार नेविसंघले ११ औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै आज नेपाली कांग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दवाव दिन नेविसंघका नेताहरु धर्ना बसेका छन् । पार्टीले नेविसंघसँग छलफल नगरी हचुवाको भरमा दुई महिना म्याद थप गरेर निर्वाचन टार्न खोजेको नेविसंघका नेता दीपक भट्टराईले बताए ।

भट्टराइले भने दुई वर्ष तीन महिनामा हुन नसकेको नेविसंघको १२ औँ महाधिवेशन अब दुई महिनामा हुन्छ भनेर कसरी पत्याउने, नेतृत्वको निर्वाचन नगर्ने खेल हो । नेविसंघका नेता हिमालदत्त श्रेष्ठले महाधिवेशन सुनिश्चित गर्नुभन्दा पनि पार्टी नेतृत्वले बहुमतका आधारमा नेविसंघको विधान मिच्ने काम गरेकाले आफूहरू धर्ना बस्नु परेको बताए ।

नेविसंघको विधानमा निर्वाचन भएको दुई वर्षभित्र अर्को निर्वाचन गरिसक्नुपर्ने अन्यथा विशेष परिस्थितिमा तीन महिना थप्न पाउने व्यवस्था छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १ गते बसेको बैठकले नेविसंघको समयावधि दुई महिना थप गरेको छ ।

मंसिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुन लागेको कांग्रेस महासमितिको बैठकमा छलफल हुने विधान मस्यौदाबारे छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अहिले पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.