‘नेतृत्वको कारण कांग्रेस आज जन्डिसको रोगी जस्तै भएको छ’ – जिल्ला सभापति केसी

| 2018 Jun 20 | 05:37 pm 7134

मकवानपुर, असार ६ :  नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले नेतृत्वको कारण कांग्रेस आज जन्डिसको रोगी जस्तै भएको बताएका छन् । हेटौडामा भइरहेको जिल्ला सभापतिहरूको भेलाको बन्दसत्रमा नेतृत्वप्रति आक्रमक हुँदै नेता केसीले सभापति देउवाले एउटा गुटलाई च्यापेर आफ्ना गलत क्रियाकलापको कुरा उठाउनेलाई पेल्ने गरेको बताएका हुन् ।

केसीले नेतृत्व सकुनिको चाल जस्तै गरी अघि बढेको बताए । निर्वाचनमा पराजय हुनुमा कम्युनिष्टको एकताको कारण भन्ने बेतुकको तर्क भएको बताउँदै नेता केसीले स्थानीय निर्वाचनमा माओवादीसँग मिलेर काठमाडौं, पोखरा, भरतपुर जस्ता कांग्रेसले एक्लै जित्ने महानगर गुमाएको बताए ।

निर्वाचनमा युवा मतदाताहरू कांग्रेसप्रति आकर्षण नहुनुमा तत्कालीन प्रधानमन्त्री एवं सभापति शेर बहादुर देउवाले एउटा टेलिभिजनमा दिएको अन्तर्वाता र आइजीपी काण्ड हुँदै प्रधानन्यायधिसलाई महाअभियोग लगाउनु मूल कारण रहेको आरोप समेत लगाए ।
उनले अन्य पार्टीहरूले संघिय ढाँचामा संगठनलाई अगाडि बढाउँदै गर्दा नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले अहिलेसम्म त्यो गर्न नसक्नु नेतृत्वको कम्जोरी रहेको बताए ।

अहिले नेतृत्वले वडादेखि तदर्थ समिति बनाउने जुन कुरा आइरहेको छ त्यो कदापि मान्य नहुने बताउँदै केन्द्रीय सदस्यहरू स्वतः महासमिति सदस्य हुने प्रावधानलाई हटाएर कार्यकर्ताबाट निर्वाचित हुने विधान बनाउनु पर्ने कुरामा केसीको जोड थियो ।

सभापति देउवामाथि आक्रमक शैलीमा अधिकांश समय खर्चिएका केसीले १३ औँ महाधिवेशनमा सभापतिलाई दिएको मतको अपमान भएको समेत बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.