काठमाडौँ, फागुन २६ : सरकारले फागुन २४ गते स्वतन्त्र मधेश गठबन्धनका सिके राउतसँग गरेको सम्झौता देश हित विपरित भएकोले सच्याउनका लागि नेकपाका नेता भिम रावलले सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आईतबारको बैठकमा विशेष समय लिएर सांसद भीमबहादुर रावलले राउतसँग गरिएको सम्झौताको शब्द नेपालको संविधानअनुकूल नभएको बताएका थिए ।
नेता रावलले सदनमा बोल्दै राष्ट्रियता र अखण्डताप्रति राउतले यसअघि विषवमन गरेकाले क्षमायाचना गर्नुपर्ने बताएका थिए । राउतले यसअघि बोलेका शब्द फिर्ता नलिएका कारण उनको विगतका सबै अभिव्यक्ति फिर्ता लिनुपर्ने कुरामा नेता रावलको जोड रहेको थियो । राउतले शान्तिपूर्ण सहमतिमा जान तयार छु भनी पूरक वक्तव्य दिनुपर्ने पनि रावलले सदन समक्ष माग गरेका थिए ।
संविधानको धारा ५६ को उपधारा ५ मा स्वायत्तताका कुरा उल्लेख भए पनि स्वशासनको कुरा सहमति गर्दैमा पूरा हुन नसक्ने सांसद रावलले बताए ।
देशको सर्वोपरि हित र स्वाभिमाननका लागि मेल नखाने सहमतिलाई सच्याउन पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता रावलले सरकासँग माग गरेका थिए । चीन र भारतको बीचमा रहेको मुलुकमा नेपाली अल्पमतमा पर्ने अवस्था आउने गरी नागरिकता दिन नहुने उनको भनाइ थियो ।