नेकपाले भव्यताका साथ ‘जनयुद्ध दिवस’ मनाउने

रिपोर्ट नेपाल | 2019 Feb 11 | 04:28 pm 2335

काठमाडौँ, माघ २८ : नेकपाले भव्यताका साथ ‘जनयुद्ध दिवस’ मनाउने  तयारी गरेको छ । तत्कालीन नेकपा (माओवादी)ले फागुन १ गते सुरु गरेको जनयुद्धको स्मृतिमा जनयुद्ध दिवस पूर्वएमालेले पनि सामूहिक रुपमा मनाउन लागेको हो ।

तत्कालीन नेकपा(एमाले)को मुख्यालय धुम्बाराहीमा यस वर्ष जनयुद्ध दिवस मनाइने छ । पार्टी महासचिव विष्णु पौडेलले पार्टीका तल्ला कमिटी, भातृ संगठनलाई सर्कुलर जारी गरी दिवस मनाउन निर्देशन दिएका छन् ।

तत्कालीन माओवादीका सर्वोच्च कमाण्डर रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुन् । उनकै पहलमा ने क पाले जनयुद्ध दिवसलाई पार्टीभित्र मनाउने तयारी गरेको हो ।

‘२०७५ फागुन १ गते केन्द्र, प्रदेश र जिल्ला पार्टी कार्यालयहरूमा जनआन्दोलन तथा जनयुद्धका शहीदहरूको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ । कमरेडहरुले आफ्नो कार्यक्षेत्र अन्तर्गत सोही अनुरुपका कार्यक्रमहरुको आयोजना गरी मनाउनुहुने विश्वास गरिएको छ,’ पौडेलले जारी गरिएको सर्कुलरमा भनिएको छ ।

सोही दिन धुम्बाराहीमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना हुनेछ । कार्यक्रममा पार्टीका दुवै अध्यक्षहरु प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी हुनेछन् ।

२०५२ साल फागुन १ गतेदेखि तत्कालीन माओवादीले जनयुद्ध घोषणा गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.