नेकपाले तोक्यो प्रदेश इन्चार्ज र अध्यक्षको नाम

| 2018 Sep 21 | 01:40 pm 1391

काठमाडौँ, असोज ५ : पार्टी एकिकरण भएको लामो समय टुङ्गो लाग्न नसकेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लागेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को लामो छलफलपछि ती पदहरु टुङ्गो लागेका हुन् । प्रधानमन्त्री निवास बालुटारमा आज शुक्रबार बसेको पार्टीको सचिवालय बैठकले पार्टीको जिम्मेवारी तोकिएको हो ।

प्राप्त समाचार अनुसार प्रदेश नं १ को इन्चार्जमा भीम आचार्य, सहइन्चार्जमा सावित्री काफ्ले तथा प्रदेश कमिटी अध्यक्षमा देवराज घिमिरे र सचिवमा सुरेशकुमार राई नियुक्त भएका छन् ।

त्यसैगरी प्रदेश नं २ को इन्चार्जमा सत्यनारायण मण्डल र सहइन्चार्जमा विश्वनाथ साह तथा प्रदेश कमिटी अध्यक्षमा प्रभु साह र सचिवमा सुमनराज प्याकुरेलले जिम्मेवारी पाएका छन् । प्रदेश नं ३ को इन्चार्जमा अष्टलक्ष्मी शाक्य र सहइन्चार्जमा नारायण दाहालले नियुक्ति पाएका छन्, भने प्रदेश कमिटी अध्यक्षमा हितमान शाक्य र सचिवमा आनन्दप्रसाद पोखरेल चयन भएका छन् ।

गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वी सुब्बा गुरुङ र सहइन्चार्जमा खगराज अधिकारीले जिम्मेवारी पाएका छन् । प्रदेश कमिटी अध्यक्षमा हितराज पाण्डे र सचिवमा गोविन्द नेपाली चयन भएका छन् । त्यस्तैप्रदेश नं ५ को इन्चार्जको जिम्मा शङ्कर पोखरेलले र सहइन्चार्जमा दलबहादुर रानाले पाएका छन्, भने पार्टी कमिटी अध्यक्षमा ओनसरी घर्ती र सचिवमा जगप्रसाद शर्मा नियुक्त भएको जनाइएको छ ।

कर्णाली प्रदेश इन्चार्जमा जनार्दन शर्मा र सहइन्चार्जमा यमलाल कँडेल नियुक्त भएका छन् । पार्टी कमिटी अध्यक्षमा गोरखबहादुर बोगटी र सचिवमा मायाप्रसाद शर्माले बाजी मारेका छन् । त्यसैगरी प्रदेश नं ७ को इन्चार्जमा भीमबहादुर रावल र सहइन्चार्जमा लक्ष्मणदत्त जोशी नियुक्त भएका छन् । पार्टी अध्यक्षको जिम्मा कर्णहादुर थापाले र सचिवको जिम्मा नेपबहादुर चौधरीले पाउन सफल भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.